काठमाडौ । असोज २ । स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तर्गत दुई नम्बर प्रदेशका आठ जिल्लामा शान्तिपुर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएपछि मतगणनाको प्रकृया पनि शुरु भएको छ ।
आयोगका अनुसार रौतहट,सर्लाही, पर्सा, सप्तरी, सिरहा,महोत्तरी, धनुषा र बाराका १ सय ३६ स्थानीय तहमा भएको निर्वाचनमा मतदाताले उत्साहपुर्वक मत हालेका छन ।
बिहान सात बजेदेखि शुरु भएको मतदान बेलुका ५ सम्म चलेको थियो । पाँच बजे भित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरुले समय लम्विए पनि मतदान गर्न पाएका थिए ।
मतदाता नमावलीमा नाम भएका तर परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताहरुले सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था निर्वाचन आयोगले मिलाएको थियो ।
१ सय ३६ स्थानीय तहमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाँउपालिका छन ।
सर्वसाधरणसँगै दुई नम्वर प्रदेशमा गृह जिल्ला भएका विभिन्न पार्टीका केन्द्रीय नेताहरुले पनि सुरुमै मतदान गरेका थिए । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकास्थित रामजानकी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
यसैगरी नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले धुनषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधि उच्चमावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले पनि धनुषाको सवेला नगरपालिकास्थित रामप्रसाद मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
यसैगरी राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिको दुर्गाखवारी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदान गर्न मतदाता बिहान साढे छ बजे नै लाइन लागेका थिए ।