काठमाडौ । असोज ३ । संविधान जारी गरेको दुइ बर्ष पुरा भै तेश्रो बर्ष प्रवेश गरेको अवसरमा सैनिक मन्च टुडिखेलमा सरकारले मंगलवार विशेष समारोह आयोजना गर्यो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्रीहरु लगायत उच्च पदस्थहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनसँगै लोकतान्त्रिक शासन तथा कानुनी राज्य स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट संविधान दिवस अंकित व्यानर प्रदर्शन गरिएको थियो भने मार्च पास, सांस्कृतिक झलक, विभिन्न खेलहरुको प्रदर्शन समेत गरिएको थियो ।
२०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान जारी भएको थियो । संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको शुभकामना सन्देश दिनुहुँदै स्थानीय तहको निर्वाचन सम्पन्नि भैसकेको अवस्थामा प्रादेशिक र संघीय निर्वाचन गरी संविधान कार्यान्वयनमा मुलुकलाइ सफलता मिल्ने विश्वास गर्नु भएको छ ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको सन्देशमा संविधानको सफल र प्रभावकारी कार्यान्वयनका लागि लोकतान्त्रिक संस्थाहरुको सवलीकरण गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो शुभकामना सन्देशमा स्थानीय सरकारले काम शुरु गरिसकेको भन्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्ययनमा योगदान गर्न सबैमा अपिल गर्नु भएको छ ।
संविधान दिवसको अवसरमा चीनका राष्ट्रपति सी चीनफिङ र भारतका राष्ट्रपति रामनाथ कोबिन्द तथा अष्ट्रर्लियाका गभर्नर जनरल पिटर कसग्रोभ र जापनी सम्राट अकिहितोले पनि राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष शुभकाना सन्दे्श पठाउदै संविधानको सफल कार्यान्वयन संगै समृद्ध नेपालको कामना गरेका छन । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया प्रधानमन्त्री लिखछियाङले पनि संविधान दिवसकै अवसरमा प्रधानमन्त्री देउवालाई शुभकामना सन्देश पठाउनुभएको छ ।
त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नेपालको संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधानसंगै नेपालको लोकतन्त्र र नेपाली जनताको उत्सवलाई अमेरिकाले सधै सम्मान गर्ने उल्लेख गर्नुभएको पठाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।