काठमाडौ । असोज ३ । मतदान शान्तिपुर्ण र उत्साहजनक रुपमा सकिएपछि मतगणना शुरु गर्दा भने जे पनि हुनसक्ने परिस्थितिलाई आकलन गरि निर्वाचन आयोगले मतगणनामा भने काँडेतार सहित अत्यन्त कडा सुरक्षा ब्यवस्था अपनाएको छ ।
पछिल्लो मतपरिणाम अनुसार काँग्रेस,एमाले,माओवादी केन्द्र र संघीय समाजवादी फोरम तथा राजपा नेपाल क्रमश अग्र स्थानमा छन ।
प्रदेश नम्बर दुईका आठ जिल्लाका एक सय ३६ स्थानीय तहमध्ये अधिकांश स्थानमा मतगणनालाई सुरक्षित बनाउँन भन्दै मतगणना स्थलमा फलामको काँडे तार र जाली लगाएर मत गन्ने काम भैंरहेको छ । कतै भने बाँसले घेराबन्दी गरिएको छ ।
काँडे तारवार र जालीको कडा सुरक्षा घेराभित्र आयोगका कर्मचारीले मतगणना गर्ने र तारवार बाहिर रहेका उम्मेदवारका प्रतिनिधिलाई देखाउँदै सदर गर्ने गरिएको छ ।
बारा र पर्सा तथा महोत्तरी, रौतहट, धनुषा र महोत्तरीका अधिकांश स्थानीय तहको मतगणनास्थलमा जिल्ला निर्वाचन कार्यालयले मतगणनालाई सुरक्षित बनाउन काँडेतारवार र जाली लगाएको छ ।
सप्तरीका केही स्थानीय तहमा तारजाली र केहीमा बाँस र डोरीको घेरवेरा बनाइएको छ भने केही स्थानमा केही नलगाइ मतगणना गरिएको छ । सिरहा र सर्लाहीका सबै स्थानीय तहको मतगणनास्थलमा तारबार लगाइएको छैन । सोमवार राति केही सीमित स्थानमा शुरु भएको मतगणना मंगलवार बिहानदेखि भने अधिकांश स्थानमा मतगणना भइरहेको छ ।
सोमवार भएको मतदानमा ७७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।