
काठमाडौ । असोज ९ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले १२ औ पटक आमरण अनसन शुरु गर्नुभएको छ ।
आफूसँग विगतमा भएका सहमति कार्यान्यवयन नगरेको भन्दै डाक्टर केसीले २० गतेदेखि अनसन बस्ने तयारी गर्नुभएको थियो ।
तर सहमति विपरित सरकारले स्वास्थ्य शिक्षा विधेयक सोमवार पारित गर्ने तयारी गरेपछि डाक्टर केसीले सोमवारदेखि नै अनसन शुरु गर्नुभएको हो ।
यसअघि सरकार र डाक्टर केसीबीच माथेमा आयोगको प्रतिवेदनको भावना अनुसार स्वास्थ्य शिक्षा विधेयक सदनमा लैजाने सहमति भएपछि केसीले ११ औं अनसन तोड्नु भएको थियो । तर सहमति विपरित स्वास्थ्य विधेयक संसदमा अघि बढाएको छ।
यसैबीच सोमवार नै डाक्टर गोविन्द केसीका समर्थकहरुले स्वास्थ्य शिक्षा विधेयक फिर्ता लिनुपर्ने माग गर्दै संसद भवन अगाडि विरोध प्रर्दशन गरेका थिए ।
यसैबीच सरकारले चिकित्सकहरुलाइ विरोधका कार्यक्रम फिर्ता गरि अस्पतालको सेवा सूचारु गर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले स्वास्थ्योपचारको नैसर्गिक अधिकारबाट सर्वसाधारणलाइ बञ्चित नगर्न नेपाल चिकित्सक संदघलाई आग्रह गरेको हो ।
चिकित्सक संघले उठाएका माग प्रधानमन्त्री शेरवहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केपछि सम्बोधन गर्ने भनिएको सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।
अघिल्लो एकसाता अघिको मन्त्रिपरिषदको बैठकले उपचारमा क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भए चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने व्यवस्थासहितको कानून बनाउन स्वास्थ्य मन्त्रालयलाइ निर्देशन दिएको थियो ।
सरकारको त्यही निर्णयको विरोधमा चिकित्सकहरुले शुक्रबारदेखि मुलुकभरका निजि र सरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।