काठमाडौ । असोज १० । राष्ट्रपति विद्यादेवी भण्डारीले यस बर्षको दशैमा विशिष्टजन तथा सर्वसाधारणलाई टिका लगाइदिनुहुने भएको छ ।
राष्ट्रपति कार्यालयले मंगलवार जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, मन्त्री, सांसद तथा अन्य विशिष्ट व्यक्तिहरुलाई अपरान्ह २ देखि ३ बजेसम्म टिका लगाइदिने कार्यक्रम छ । यस्तै अन्य सर्वसाधारणलाई अपरान्ह ३ बजेदेखि टिका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।
राष्ट्रपतिबाट टिका ग्रहण गर्न इच्छुकहरुका लागि शितलनिवासको १ नम्बर गेट खुल्ला रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस बर्ष असोज १४ गते शनिबार विजया दशमी परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार टिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५५ मिनेटमा रहेको छ ।
असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ । फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ । फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।
असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी र १४ गते विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ ।