काठमाडौं – आश्विन २५, अमेरिका र उत्तर कोरियाबीचको तनाव फेरि बढेको छ । तनाव जारी रहँदा अमेरिकाले दक्षिण कोरियासंग मिलेर कोरियाली प्रायद्वीपमा फेरी शक्ति प्रदर्शन गरेको छ ।
संयुक्त सैनिक अभ्यासमा दुई वटा अमेरिकी बमवर्षक विमानले कोरियाली प्रायद्वीपमाथि उडान गरेका छन् । अमेरिकी बम वर्षक युद्धक विमानलाई दक्षिण कोरियाली युद्धक विमान फाइटर जेटले साथ दिएका थिए ।
कोरियाली समुद्रमाथि शत्रुलाई लक्षित गर्दै आकाशबाट जमिनमा क्षेप्यास्त्र प्रहार गर्ने अभ्यास गरेको उनीहरुले जनाएका छन । उत्तर कोरियाले हालै छैटौं आणविक परिक्षण गरेको थियो । त्यसयता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ्ग उनबीच वाक युद्ध समेत चलेको थियो ।
राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै ट्रम्पले उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो भने किमले ट्रम्पको मानसिक अवस्था ठिक नभएको प्रतिक्रिया दिनु भएको थियो ।
यसैबीच अमेरिकी सेनाले दक्षिण कोरियासंगको संयुक्त सैन्य अभ्यास लगत्तै जापानीज लडाकु विमानसंग पनि संयुक्त सैनिक अभ्यास गरेको जनाएकोछ ।