काठमाडौं – आश्विन २५, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र छिट्टै भत्किने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित माओवादी केन्द्र र नेकपा (संयुक्त)बीचको एकता कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र भत्किएर छिट्टै अर्को नयाँ पार्टी बन्न लागेको बताउनु भएको छ । दाहालले एमालेसँग हुने एकतालाइ संकेत गर्नुभएको थियो ।
कार्यक्रममा दाहालले अव हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नजिकै बढिरहेको राजनीतिक ध्रुविकरणले देशमा नयाँ शक्तिशाली पार्टी निर्माण हुने दावी गर्नुभये । कम्युनिष्ट नेताहरू मोहनविक्रम सिंह, नारायणमान विजुक्छे, मोहन वैद्यलगायत नेतालाई लक्षित गर्दै दाहालले मेरा कतिपय गुरुहरु पुरानै पार्टीमा हुनुहुन्छ ।
त्यही पार्टीमा हिँडिराख्नुभएको छ । भिक्षुजस्तै घण्टी बजाइरहनुभएको छ । उहाँहरुबाट न समाजमा कुनै परिवर्तन छ । न त जीवनमा कुनै आवेग वा कुनै आक्रोश नै । कतिपय साथीहरु भक्तपुरमा बसिरहनुभएको छ । भक्तपुरभन्दा बाहिर हेर्नुहुन्न । कतिपय साथी प्यूठानमा हुनुहुन्छ । प्यूठानबाहिर जानुहुन्न । केही साथी त्यस्तै यस्तै हुनुहुन्छ भन्नुभयो ।
‘कतिपय कम्युनिस्ट नेता र अग्रजहरु मन्दिरमा घन्टी बजाएझैं एकै ठाउँमा बसिरहनु भएको छ, हामीले त्यसो गरेनौं। निरन्तरतामा क्रमभङ्ग गरेर मात्र क्रान्ति अगाडि बढ्छ, समाज अघि बढ्छ, हामीले त्यही क्रमभङ्गलाई आत्मसात गरेका छौं।’उहाँले भन्नुभयो ।
एकता कार्यक्रममा नेकपा (संयुक्त)का अध्यक्ष गणेश शाहले कम्युनिष्ट एकताका लागि दुइ पार्टी बीचको एकता गरेको बताउनुभयो । एकतासँगै नेकपा (संयुक्त) का तीन सांसद पनि माओवादी केन्द्रमा समाहित भएका छन् ।