काठमाडौ । असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको राजनीतिलाई नयाँ मुडभेडको बाटोमा लैजाने गरि छैठौ पटक मन्त्रिपरिषद बिस्तार गरेका छन।
निर्वाचन आचारसंहिता पालना गर्छौ भनेर लिखित प्रतिवद्धता जनाएर सिहंदरवारबाट बाहिरिएका प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापालाइ उपप्रधान मन्त्री बनाउँदै फेरि मन्त्रीपरिषद् विस्तार गरेका हुन्।
संसदको आयु सकिनु एकदिन अघि सरकार विस्तार गरेका देउवाले आफुमाथि अविश्वासको प्रस्ताव आउन नसक्ने गरि निरकुंश सरकार चलाउने खेल खेलेको श्रोतहरुको दावी छ ।
शनिवार संसदको आयु सकिने र त्यसपछि सरकार नै सर्वेसर्वा हुने भएकोले देउवाले माओवादीका मन्त्रीहरुलाई हटाउने तयारी गरेको पनि बताइएको छ ।
प्रधानमन्त्री देउवाले एक उपप्रधानमन्त्री तथा ३ मन्त्री र चार राज्यमन्त्री थपेर राप्रपालाइ ८ मन्त्री दिएका हुन ।
राप्रपाबाट बिनाविभागीय मन्त्री हुनेमा दिलनाथ गिरी, जयन्त चन्द, विक्रम थापा रहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । यसैगरी भाष्कर भद्रा, सुशील श्रेष्ठ, कुन्ती शाही र कान्ता भट्टराईलाई राज्यमन्त्री नियुक्त गरिएको छ । यो संगै मन्त्रिपरिषद संख्या ६४ पुगेको छ ।
नवनियुक्त मन्त्रीहरुको भोली सपथ हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । सत्ता साझेदार दल माओवादी केन्द्रले नेकपा एमालेसँतग गठवन्धन गरेपछि माओवादी मन्त्री हटाउने खेल शुरु भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले निर्वाचन मन्त्री परिषद् विस्तार हुने भन्दै राष्ट्रपति कार्यालयलाई त्यसका लागि तयार रहन भनेको थियो ।
यसैबीच सरकार विस्तारले आचारसंहिता उल्लंघन हुने, नहुनेबारे निर्वाचन आयोगले बैठक बसेर निर्णय गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
आयोगले यसअघिको पाँचौ पटकको मन्त्रिपरिषद बिस्तारलाई आचारसंहिता विपरित भन्दै आइन्दा त्यसो नगर्न भनेको थियो ।