काठमाडौं, असोज २८ । गैरआवसीय नेपाली संघ एनआरएनएको आठौं विश्व सम्मेलन शनिवारदेखि काठमाडौंमा शुरु भएको छ ।
विश्व सम्मेलनको उद्घाटन गर्नुहुदै राष्ट्रपति विद्यादेवी भण्डारीले एनआरएनएले नेपालको आर्थिक सम्बृद्धिका लागि निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
सो अवसरमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्ष शेष घले र पूर्व अध्यक्ष जीवा लामिछानेले गैर आवासीय नेपालीहरुको चाहाना सुन्दर शान्त र सम्बृद्ध नेपाल रहेको बताउदै नेपालको सम्बृद्धिमा निरन्तर सक्रिय हुने प्रतिवद्धता जनाउनुभयो ।
सम्मेलनमा विश्वका विभिन्न देशबाट झण्डै २ हजार प्रतिनिधि सहभागी छन् ।
सम्मेलनको पहिलो दिन भुकम्पपछिको पुनर्निर्माण, बैदेशिक रोजगारीमा गएकाहरुको सामजिक सुरक्षा तथा यसको प्रभावकारीता, लगायतका बिषयमा छलफल हुनेछ ।
सम्मेलनले दुई वर्षका लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ । नयाँ कार्यसमितिको अध्यक्षका लागि जापानका भवन भट्ट, अष्ट्रेलियाकी जमुना गुरुङ घले र कतारका टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।