काठमाडौ । कार्तिक २ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने समय नजिकिँदै जाँदा पनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र लगायत प्रमुख राजनीतिक दल उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।
निरन्तर छलफलमा जुटेका दलहरुले बुधवार पनि दिनभर आन्तरिक छलफल गरे । तर उम्मेदवारको टुगो लागेन । अधिकाशं जिल्लामा उम्मेद्वारका आकाक्षी धेरै भएपछि दलहरुलाई छनौट गर्न सकस भैरहेको छ ।
एमाले र माओवादी लगायतको बाम गठबन्धन र काँग्रेस सहितको लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने निर्णय भएपनि गठबन्धनभित्र कसलाई उम्मेदवार बनाउने भन्नेमा सहमति गर्न दलहरुलाई हम्मे हम्मे परेको छ ।
चुनावका लागि तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु पनि दिन भर उम्मेद्ववार छनोट र निर्वाचन क्षेत्र बाडफाडमा छलफल गरेका थिए । काँग्रेसको पनि बैठक बसिरहेको छ ।
कांग्रेस संसदीय समितिका सदस्य प्रकाश शरण महतले पहिलो चरणमा निर्वाचन हुने सवै जिल्लाका उम्मेद्वारको टुङगो लगाउने गरी गृहकार्य भैरहेपनि केही काम बाँकी रहेको जानकारी दिनुभयो ।
बाम गठबन्धनको समितिले भने तय गर्न गाह्रो भएको भन्दै शिर्ष नेताहरुलाई नै अन्तिम टुगो लगाउने जिम्मा दिने तयारी गरेको छ ।
यसैगरी राजपा नेपाल र संघीय समाजवादी फोरम तथा राप्रपाले पनि उम्मेद्वार छनोटको गृहकार्य जारी रहेको बताएका छन् ।
तर राजपामा नेतृत्वले आफुखुसी टिकट वितरण गरेको र पार्टी सदस्य समेत नभएकाहरुलाई समानुपातिक सुचीमा राखेको भन्दै महामन्त्रीहरु सहितका नेताहरु पार्टी कार्यलयमा धर्ना बसेका छन् ।