बुटवल । कार्तिक ३ । नेपाल संवत् ११३८ विधिध कार्यक्रम सहित मनाईएको छ । काठमाडौं उपत्यका,पाल्पा लगायत देशका विभिन्न क्षेत्रमा भिन्तुना र्या लीको आयोजना गरिएको छ ।
र्यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता रहन्छ। नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन समेत गरिएको पाइन्छ ।
नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभूति शंखधर साख्वाले चलाएको विश्वास छ । सोही उपलक्ष्यमा नेवारी समुदायले शुक्रबार राति घरघरमा म्हःपूजा गर्ने गर्छन ।
नेपाल संवत नेपालमा प्रचलित चन्द्रमासमा आधारित साल हो। विशेषत: नेवार समुदायले मान्ने यो संवत मौलिक संवत हो। नेपाल संवतका प्रवर्तक शंखधर् साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत थालिएको हो। नेपाल सम्वत ११३८ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालयहरुमा चलाईएको थियो ।
नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो। यो संवतको पहिलो दिन विक्रम संवतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ। यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ। १२ औँसीको एक वर्ष हुन्छ त्यसैले ३५४ दिनको एकवर्ष हुन आउँछ। तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ ।
पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ ।
अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाझी गरेर राजालाई ‘यसले अनैतिक व्यापार गरेको छ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे ।
यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै ‘तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ’ भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सवंत् चलेको भनाइ छ ।