काठमाडौं । कार्तिक आगामी मंसिर १० गते पहिलो चरणमा हुने ३२ जिल्लाका प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कार्तिक पाँच गते प्रत्यक्ष तर्फ उम्मेदवारी मनोनयन हुँदैछ ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको चुनाव तोकिएकै मितिमा हुने भन्दै उम्मेदवारी मनोनयनको तयारी पूरा भएको जनाएको छ । मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा निर्वाचन हुनेछ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको छ ।
पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्ने छन् । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको पनि निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रममा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन आयोगले दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई आग्रह समेत गरेको छ ।
दलहरुले असोज २९ गते समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बुझाइसकेका छन् ।