स्थानिय उत्पादनको बजारीकरण र प्रबिधिको आयातमा जोड

तिलोत्तमा,९ कात्तिक । तिलोत्तमा व्यापार संघले मेला तयारीका बिषयमा यस क्षेत्रका सामाजिक संघ संस्थाहरु संग बृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ । मेला तयारीका बिषयमा जानकारी दिन र सुझाव संकलनका लागी कार्यक्रमको आयोजना गरिएको हो ।
त्यस अवसरमा बोल्ने वक्ताहरुले स्थानिय उत्पादनको बजारीकरण र प्रबिधिको आयातमा बिशेष ध्यान दिन मेला आयोजकलाई सुझाव दिएका थिए । उनिहरुले परम्परागत मेला भन्दा भिन्न पहिचान र नयापन दिने गरी मेलालाई केन्दि्रत गर्न सुझाव दिएका थिए । मेलाबाट उत्पादनको बजारीकरण र उपभोक्ताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण निर्माणका लागी समेत सुझाएका थिए । कार्यक्रममा बोल्ने सामाजिक संघ संस्थाका अगुवाहरुले तिलोत्तमा नगरको पहिचान झल्कीने स्थानिय उत्पादनलाई ब्राण्डको रुपमा स्थापित गर्न मेला सफल बन्नुपर्ने धारणा राखेका थिए ।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मेलाको सफलता सिंगो नगरपालिकाको प्रतिष्ठासंग गांसिएको बताउनुभयो । उंहाले नगरपालिका भित्र स्थायी मेला स्थल आवश्यक रहेको भन्दै आवश्यक पहल थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष झबिन्द्रप्रसाद कंडेलले तिलोत्तमालाई राष्ट्रिय व्यापारिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यका साथ संघले पहिलो पटक मेला आयोजना गरेको बताउनुभयो । उहाले भन्नुभयो, ँनिकासी योग्य बस्तुको पहिचान एवं बजार प्रबर्द्धनमा सहयोग पुर्‍याउने, बैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरण निर्माण मेलामा गरिने छ ।’
महोत्सवमा ५ करोड रूपैयाा बराबरको कारोबार र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको उंहाले जानकारी दिनुभयो । मेलामा राष्ट्रिय उत्पादन तथा सेवाहरुको प्रदर्शन, भारत, बंगालदेश, पाकिस्तान तथा चीनका व्यवसायिक स्टलहरु, अटो तथा आईटी प्रदर्शनी, आकर्षक कृषि परिसर रहने अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै रुपन्देही व्यापार संघका बरिष्ठ उपाध्यक्ष पदम श्रेष्ठले निर्यातजन्य बस्तुको उत्पादनमा सहयोग गर्ने प्रबिधिको आयातमा ध्यान दिन सुझाव दिनुभयो ।
नेकपा एमालेका जिल्ला सदस्य तथा नगर इन्चार्ज मोहन चापागाईले मेलालाई आम्दानिको रुपमा भन्दा पनि उत्पादकले उपभोक्तासंग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउने थलोको रुपमा उपयोग गर्नुपर्ने बताउनुभयो । त्यस अवसरमा संघका आर्थिक सल्लाहकार लक्ष्मण ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघका उज्जवल कसजु, देवदह व्यापार संघका कोष बहादुर गुरुङ, तिलोत्तमा उद्योग वाणिज्य संघका कमल कंडेल, शसस्त्र प्रहरी बल गंगोलियाका डिएसपी कृष्ण गोपाल गुरुङ्ग, तामनाथ पाण्डे, देवानन्द पाण्डे, किरण खनाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम प्रथम उपाध्यक्ष बाबुलाल भुषालको स्वागत र महासचिव बिष्णु बरालको संचालनमा सम्पन्न भएको थियो । तिलोत्तमा व्यापार संघको आयोजनामा यहि मंसिर २३ गते देखि पुस ५ गते सम्म तिलोत्तमा व्यापार मेला संचालन हुंदैछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.