एमालेका शीर्ष नेताको क्षेत्र तय,गठबन्धनबाट प्रचण्ड सहितको बाँकी

बुटवल । कार्तिक १० । दोश्रो चरणमा चुनाव हुने ४५ मध्ये बाम गठबन्धनका तर्फबाट एमालेले आफ्ना शीर्ष नेताहरुको निर्वाचन क्षेत्र तय गरेको छ ।

जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५, वरिष्ठ नेता झलनाथ खनाल इलाम १ तथा अर्का बरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौँ २ र महासचिव ईश्वर पोखरेल काठमाडौँ ५ बाट उम्मेदवार बन्ने निश्चित भएको एमालेले जनाएको छ । यसैगरी बामदेव गौतम बर्दिया १, सुरेन्द्र पाण्डे चितवन १ निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने निश्चित भएको एमालेले जनाएको छ ।

गठबन्धनको अर्को दल मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट उम्मेदवार बन्ने करिव निश्चित भए पनि अझै टुङगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् । यस्तै रामबहादुर थापा बादल चितवन ३ बाट उठ्ने कुरा भएपनि उहाँको पनि तय भएको छैन ।

गठबन्धनले कतिपय जिल्लामा आकांक्षी धेरै भएको र प्रभावशाली नेताहरुबीच नै टिकटका लागि रस्साकस्सी चलेका कारण उम्मेद्वार चयनमा ढिलाइ भएको एमाले नेता तथा कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । सहमति हुन नसकेपछि उम्मेदवारको निर्णयको अधिकार पार्टी एकता संयोजन समितिलाई दिने तयारी भैरहेको छ ।

समितिले काठमाडौँ, ललिपुर र भक्तपुरका १५ निर्वाचन क्षेत्र मध्ये एमालेले ११ र माओवादी केन्द्रले ४ सिट पाउने गरी बाँडफाँट गरेको छ । तर दाङ, अर्घाखाँची, सल्यान, झापा, उदयपुरमा भने सिट बाँडफाँटमा अझै कुरा मिल्न सकेको छैन। एमाले नेता शंकर पोखरेललाई पाँच नम्वरको मुख्यमन्त्री बनाउने र दाङको २ नम्वर क्षेत्र माओवादी केन्द्रका नेता कृष्णवहादुर महरालाई दिने तयारी पनि भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.