बुटवल । कार्तिक १२ । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णय गरेको छ।
आयोगको आइतवार बसेको बैठकले सर्वोच्च अदालतले निर्वाचन आयोगलाई छुट्टाछुट्टै मतपत्र छाप्नेबारे गत कात्तिक १ गते ध्यानाकर्षण गराए बमोजिम त्यसै अनुसार अघि बढ्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले एउटै पेजमा माथि प्रतिनिधिसभा र तल प्रदेश सभाको हुनेगरि एउटै मतपत्र छाप्ने तयारी गरेको थियो । आयोगले कार्यदल नै गठन प्राविधिक कठिनाई हुने भन्दै सर्वोच्चले भने अनुसार गर्न कठिन हुने प्रतिवेदन पनि तयार गरेको थियो।
तर राजपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले आयोगको तयारी विरुद्ध सर्वोच्चमा रिट हालेपछि कात्तिक ८ गते सर्वोच्चले तीन दिन भित्र मतपत्र छपाईको प्रगति विवरण बुझाउन आदेश जारी गरेको थियो।
प्राविधिक र समय अभावले त्यो सम्भव नभएको बताउँदै आएको आयोगले अदालतको आदेशपछि अन्योलमा परेपनि अन्तत दुई छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो। तर त्यसले चुनाव प्रभावित नहुने आयोगका प्रवक्ता नवराज ढकालले दावी गर्नुभयो ।