काठमाडौ । कार्तिक २१ ।नेकपा एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धनले गाँउदेखि केन्द्रसम्म वामपन्थी सरकार भन्ने चुनावी नारा सहित महत्वाकाक्षी प्रतिवद्धता जनाउँदै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा मंगलवार आयोजित प्रदेश र प्रतिनिधिसभा निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने ग्यारेण्टी सहितको योजना ल्याएको बताउनुभयो ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घोषणापत्रका प्रतिवद्धता कार्यन्वयन गरेर देखाउने बताउनुभयो ।
वाम गठबन्धनको घोषणापत्रमा वृद्धभत्ता पाँच हजार पुर्याउनेदेखि ६५ बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई यातायात भाडामा २५ प्रतिशत र ७५ बर्ष उमेर पुगेकालाई ५० प्रतिशत छुट दिनेसम्मका बिषय उल्लेख गरिएको छ ।
यस्तै सरकारी अस्पतालमा सुत्केरी हुने आमा र शिशुको पोषणका लागी पाँच हजार भत्ता उपलव्ध गराउने तथा १० बर्षभित्र २० हजार मेगावाट विद्युत र ५० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।
घरबारविहीन सुकुम्बासी, पूर्वकमैया कमलरी,हलिया, लोपोन्मुख जातिहरु मध्येका मुसरहर, चेपाङ,पासी, चमार डोम, बादी, माझी र राउटेलाई ५ वर्षभित्र घर उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरिएको छ ।
भुकम्पपछिको पुनर्निर्माणको काम २०७६ सालभित्र सम्पन्न गरिसक्ने र भुकम्प तथा बाढी पहिरो पिडितलाई ३ लाख अनुदान दिने ब्यवस्था गर्ने भनिएको छ ।
काठमाडौF,ललितपुर र भक्तपुर जिल्लाहरुलाई एकीकृत सहरका रुपमा विकास गर्ने, पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंतक्तिमा पुर्या्इने,
पाँच वर्षमा राजधानी उपत्यकाको चक्रपथमा रेल सञ्चालन गर्ने, नेपाली ध्वजावाहक पानीजहाज चलाउने, विदेशी सहायतामाथिको निर्भरता हटाउँदै पाँच बर्षभित्र उपभोग्य वस्तुहरूमा आत्मनिर्भरता कायम गर्ने र प्रति २५ हजार नागरिकका लागि ७ चिकित्सक र ६० शैयाको अस्पताल बनाउने विषय घोषणापत्रमा राखिएको छ ।
त्यसैगरी उपत्यकामा अन्तराष्ट्रिय स्तरका चार वटा रंगशाला स्थापना र खेलकूद महाविद्यालय संचालन र प्रत्येक प्रदेशमा अत्याधुनिक रंगशाला र खेलकूद विश्वविद्यालय संचालन गर्ने घोषणापत्रमा उल्लेख छ ।
एमाले र माओवादीको घोषणापत्रमा भारतसँगको सन् १९५० को सन्धि लगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन तथा समानता र पारस्परिक लाभ र सम्मान लगायतका पञ्शीलताका सिन्द्धान्त अनुसार छिमेकी मुलुक भारत र चीनसंगको सम्बन्ध घनिष्ट बनाउने बिषय घोषणापत्रमा उल्लेख गरिएको छ ।