काठमाडौ । कार्तिक २८ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा नेपाली सेनाका भगौडा समेत संलग्न भएको पाइएको छ ।
प्रहरीले हत्यामा दुइ जना नेपाली सेनाका भगौडा समेत संलग्न रहेको जनाएको हो । नेपाल प्रहरीले ३५ दिनपछि मंगलवार सार्वजनिक गरेका पाँच जना अभियुक्त बाहेक हत्यामा संलग्न भै फरार रहेका श्यामबहादुर गुम्बे, अम्मरबहादुर लामा नेपाली सेनाका भगौडा रहेको जनाएको छ ।
प्रहरीले गौचनलाई गोली हान्ने नुवाकोट पञ्चकन्याका राजीव स्याङ्तान, हतियार व्यवस्था गर्ने पर्सा कालिकामाईका शिवजी महतो, भारतको विहार घर भएका मुकेशकुमार पाण्डे, मोटरसाईकलको चाँजोपाँजो मिलाउने पर्सा ठोरीका सन्तोष गुरुङ् र सहयोगी प्रकाश बुढाथोकीलाई पक्राउ गरि मंगलवार सार्वजनिक गरेको हो ।
प्रहरीले घटनाको मुख्य योजनाकार समिरजंग सिह बस्नेत, मनोज पुन, लोप्साङ लामा, गंगा लिङ्देन, , रोशन बुढाथोकी र अजय थापा पनि अझै फरार रहेको जनाएको छ ।
प्रहरी अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दले अनुसन्धानबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनसँग फिरौती मागेर नदिएपछि हत्या गरिएको अनुसन्धानबाट खुलेको बताउनुभयो । तर प्रहरी घटनाका मुख्य योजनाकारसम्म पुग्न नसकेको छैन ।
पक्राउ परेकाहरुलाई काठमाडौ जिल्ला अदालतबाट संगठित अपराध अन्तर्गत ६० दिनको म्याद लिएर अनुसन्धानलाई अघि बढाइएको छ । गौचनको गत असोज २३ गते काठमाडौको शान्तिनगर स्थित ओमशान्ति चोकबाट नयाँ बानेश्वर जाँदै गर्दा गोली हानी हत्या भएको थियो । हत्या लगत्तै प्रहरी हेडक्वाटरले डिआईजी गणेश केसीको संयोजकत्वमा विशेष टोली गठन गरेको थियो ।