पुष्पकमल दाहाल आफैले दिए छोरा प्रकाशलाई दागबत्ती, निकै सम्हालिएका दाहाल भक्कानिदै रोएपछि

काठमाडौ । मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएपछि छोरा प्रकाश दाहालको पार्थिव शरिरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैले दागवत्ती दिएका छन् । पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदा अध्यक्ष दाहालले एकमात्र छोरा प्रकाशको पार्थिव शरिरमा दागवत्ति दिएका हुन । हिन्दू परम्परा अनुसार दागवत्ति दिँदा अध्यक्ष दाहाल भावविह्वल भएका थिए ।

त्यसअघि प्रकाशको पार्थिव शरिरलाई श्रद्धान्जली दिन पार्टी कार्यालय पेरिसडाँडा राख्दा पनि दाहाल सम्हालिने अथक प्रयास गरेका थिए । तर आफ्नै एकमात्र छोराले ३६ बर्षकै उमेरमा अप्रत्यासित रुपमा संसार छाड्दाको पिडा पुरै त कसरी लुकाउन सक्थे र दाहाल रुदै पार्टीको केन्द्रीय सदस्य समेत रहेका छोरा प्रकाशलाई पार्टीको झण्डा ओढाए । त्यसबेला अध्यक्ष दाहालका आँखा आँसुले भरिएका थिए । त्यसपछि फुलको बुकी तथा माला र अविर शवमाथि राख्दा भक्कानिदै रोए र विस्तारै पछि हटे ।

छोरीहरु रेणु र सिमाले माल्यार्पण गर्दै शवमाथि टाउको राखेर डाको छाडेर रुँदा दाहालले फेरि मन थाम्न सकेनन । त्यसवेला फेरि रोए दाहाल अनि रुमाल झिके आँसु पुछे ।

त्यसअघि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पेरिसडाँडा पुगेर दाहाललाई भेट्नासाथ दुवै नेता अंगालो मारेर रोएका थिए ।
त्यसअघि नर्भिक अस्पतालमा पनि पुष्पकमल दाहाल भावविह्ल भएका थिए । कन्चनपुरबाट आएपछि प्रकाशकी पत्नी विना मगर चिच्चाएर दौडिदै अस्पतालमा पुगेकी थिइन । उनलाइ सम्हाल्न समेत हम्मेहम्मे परेको थियो । प्रकाशकी आमा सिता दाहाल शोकमा डुवेकी छन । प्रकाशकी जेठी श्रीमती श्रृजना त्रिपाठी बेहोस भएपछि अस्पताल नै भर्ना गरिएको थियो ।

झापाबाट आउनासाथ लाजिम्पाट निवास पुगेका दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही पुगेर श्रद्धान्जली र समवेदना दिएपछि दाहाल नर्भिक अस्पताल पुगेका थिए । विहान विस्तारामै अचेत भएका प्रकाशलाइ नर्भिक अस्पताल पुराइएको थियो । चिकित्सकहरुले आकस्मिक हृदयघात भएको भन्दै घरमै राती नै निधन भएको भएको हुनसक्ने बताएका थिए ।

प्रकाशलाइ श्रदान्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन सहित एमाले, काँग्रेस, माओवादी र अन्य दलका वरिष्ठ नेताहरु तथा ठुलो संख्यामा माओवादी कार्यकर्ता तथा पेरिसडाँडा पुगेका थिए । पशुपति आर्यघाटमा पनि ठुलो संख्यामा प्रकाशको अन्तिम संस्कारमा पुगेका थिए माओवादी नेता तथा कार्यकर्ता ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.