काठमाडौ । मंसिर १०। संघीय संरचना अन्तर्गत पहिलो प्रतिनिधिसभा र प्रदेश सभाका लागि ३२ जिल्लामा निर्वाचन उत्साहका साथ जारी छ ।
भौगोलिक विकटताका कारण केही मतदान केन्द्रमा भने केही ढिलो गरी निर्वाचन सुरु भएको छ । अहिले सम्म आधा मत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ जनप्रतिनिधि चयनका गर्न मतदाताहरु बिहानैदेखि उत्साहका साथ मतदानमा सहभागी भइरहेका छन् ।
हिमाली तथा उच्च पहाडीमा जिल्लामा बढ्दो चिसोका बीच पनि मतदाता मतदानस्थलसम्म आउने क्रम जारी रहेको निर्वाचन अधिकृतहरुले जनाएका छन् । मतदानका लागि वृद्ध र अपाङगहरुका लागि विशेष व्यवस्था गरिएको छ ।
यो निर्वाचनमा ४ हजार ४ सय ६५ मतदान केन्द्रहरु कायम छन् । पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।
बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।
प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा आइतबार प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्ला छन् ।
यस्तै प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान जारी रहेको छ ।
उता सोलुखुम्बुको तिङ्लाका वासिन्दाले स्थानीय तह सीमांकनमा असहमति जनाउँदै यसपाली पनि मतदानमा सहभागी भएका छैनन् । उनीहरुले गत स्थानीय चुनावमा पनि मतदान गरेका थिएनन् ।