काठमाडौ। मंसिर १० । प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा उम्मेदवार बनेका शीर्ष तहका नेताहरुले आआफ्नो क्षेत्रबाट मतदान गरेका छन् । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्वर ४ को गोरखाको पालुङटार मतदान केन्द्रबाट मतदान गर्नुभयो । उहाँका प्रतिद्वन्दी समेत रहेका माओवादी केन्द्रका पुर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको जौबारी परोपकार आदर्श मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
त्यसै गरी नेपाली कांग्रेसका पूर्व सचेतक चीनकाजी श्रेष्ठले गोरखाकै आरुघाटको भिमोदय माविवाट मतदान गर्नुभयो ।
यस्तै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले पाँचपोखरी गाउपालिकाको बाँसखर्कवाट मतदान गर्नुभयो छ ।
एमाले सचिव योगश भट्टराईले ताप्लेजुङको साँघु स्थित नारायणी माविबाट मतदान गर्नुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका नेता रामशरण महतले नुवाकोटको कविलास स्थित राष्ट्रिय मावि मतदान केन्द्रवाट र माओवादीका हितबहादुर तामाङले नुवाकोटकै पञ्चकन्या मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले ओखर पौवावाट केन्द्रबाट मतदान गर्नुभयो ।
सिन्धुपाल्चोकमा वामगठन्धनका अग्नी सापकोटाले चौतराको कुविन्डेवाट मतदान गर्नुभयो भने नेपाली कांग्रेसका मोहन वस्नेतले बाह्रविसे नगरपालिकाको पँलाटीवाट मतदान गर्नुभयो ।
नेपाली काग्रेसका दिलबहादुर घर्तीले लमजुङको मध्यनेपाल नगरपालिका जितावाट मतदान गर्नु भयो । यस्तै गठबन्धनका उम्मेदवार देव गुरुङले मनाङको नासुङ मतदानकेन्द्रबाट मतदान गर्नुभयो ।
जाजरकोटमा बाम गठबन्धनका शक्ति वस्नेतले भेरी नगरपालिकाको बागेश्वर माविबाट मतदान गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार राजीवविक्रम शाहीले शिवालय गाउँपालिकको चन्द्र दीपक माविबाट मतदान गर्नुभएको छ ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुमबाट र बर्षमान पुनले रोल्पाबाट मतदान गर्नुभयो ।