काठमाडौ । मंसिर १० । प्रदेश र प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा आइतवार करिव ६५ प्रतिशत मत खसेको छ । सवैभन्दा धेरै बाजुरामा ८० प्रतिशत मत खसेको छ । प्रदेश नम्वर २ वाहेक ६ वटै प्रदेशका ३२ हिमाली र उच्च पहाडी जिल्लामा भएको मतदान उत्साहजनक र छिटफुट बाहेक शान्तिपुर्ण रहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिनुभयो ।
कुल २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्रबाट मतदाताले प्रतिनिधिसभाका लागि ३७ र प्रदेशसभाका लागि ७४ जनप्रतिनिधि चयन गर्न कुल ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले प्रत्यक्ष तर्फ आफ्नो मताधिकारको प्रयोग गरेका छन् । प्रतिनिधिसभाका लागि ३ सय २० र प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ ३ सय ८२ गरी कुल ७ सय २ उम्मेदवार बाट १ सय ११ जनप्रतिनिधि छानिने छन् । यो निर्वाचनबाट नेपालको इतिहासमा पहिलो पटक प्रदेश सरकार गठनका लागि जनप्रतिनिधि छान्न समेत मतदान भएको छ । यस्तो मतदान यसअघि नेपालमा कहिल्यै भएको थिएन ।
समानुपातिक तर्फ पनि मतदाताले दल छानेर मत हालेका छन् । मतदान गर्न १ सय १५ बर्षसम्मका मतदाता चिसो नभनि मतदान स्थल पुगेका थिए ।
निर्वाचन भैरहेका जिल्लाहरुमा मौसम अनकुल रहेकाले मतदान सहज भएको हो ।
आइतवार मतदान भएका क्षेत्रका मतपेटिकाहरु विषेश सुरक्षाका साथ मतगणना स्थलमा राखिनेछ । विकट क्षेत्रका मतपेटिका सेनाको हेलिकोप्टर मार्फत ल्याएर सुरक्षित राखिने छ ।
मतगणना भने मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनपछि हुनेछ ।
आइतवार प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ गरी ७ जिल्ला मतदान भएको हो ।
यस्तै प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी ६ जिल्लामा मतदान भयो भने प्रदेश नम्बर ४ मा मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, लमजुङ र गोरखा गरी ६ जिल्लामा मतदान भयो ।
प्रदेश नम्बर ५ का पुर्वी रुकुम र रोल्पा दुई जिल्ला मात्र पहिलो चरणमा निर्वाचन भयो भने प्रदेश नम्बर ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, जुम्ला, मुगु, कालीकोट र डोल्पा गरी ७ जिल्ला र प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा, र बैतडी ४ जिल्ला पहिलो चरणमा निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन आयोग भन्छ– यो निर्वाचन नेपालको संविधान, २०७२ जारी भएपछि पहिलो र ऐतिहासिक निर्वाचन हो । यस निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने सुनिश्चितता प्रदान गर्ने देखिन्छ ।
केही समय पहिले भएको स्थानीय तहको निर्वाचनको तुलनामा आजको सम्पन्न भएको निर्वाचनमा मतदातालाई आतंकित पार्ने घटनाहरु निर्वाचन पूर्व र निर्वाचनका्े दिनमा छिटपुट रहेको पाइयो र केहि स्थानमा झडपका कारण केही सर्वसाधारण तथा उम्मेदवारहरु समेत घाइते भएको पाइयो । उक्त घटनाहरु भएतापनि निर्वाचनमा आम जनताहरुको उत्साहप्रद सहभागिता पाइयो ।
विभिन्न स्थानमा भएका झडपलाई सुरक्षा निकायको उपस्थीतिमा सहजै व्ययवस्थापन गरेको पाइयो । यो निर्वाचनमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको समेत पाइयो ।
स्थानीय तहको निर्वाचनको तुलनामा मतदाताहरुलाई मतदान गर्न सहज भएको देखियो जसका कारण मतपत्र बदरमा कमी आउने सक्नेछ ।