युवालाई स्वरोजगारसहित आत्मनिर्भर बनाइने

 

बुटवल, १२ मंसिर ।
बाम गठबन्धनका नेताहरुले युवाहरुलाई उत्पादनमूलक कार्यमा लगाएर स्वरोजगार बनाइने बताएका छन् । अहिलेको निर्वाचनपछि बामपन्थीको बहुमतको सरकार बन्ने र उक्त सरकारले युवाहरुलाई उत्पादनमूलक काममा लगाउने गरी आवश्यक नीति तय गर्ने उनीहरुको भनाई छ ।
रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ को नयाँमिलमा मंगलबार आयोजित बृहत युवा भेलामा बोल्दै बाम गठबन्धनका नेताहरुले यस्तो बताएका हुन् ।
भेलामा बोल्दै एमाले उपमहासचिव एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि
सभाका उम्मेद्वार विष्णु पौडेलले सीप सिकेका युवालाई काम र सीप नभएकालाई सीप सिकाएर आत्मनिर्भर बनाइने बताए । “युवाहरुलाई उत्पादनमा लगाएर आत्मनिर्भर बनाएपछि युवाको विदेश पलायन रोक्न सकिन्छ”–उनले भने ।
युवा जनशक्तिको विदेश पलायन नरोकेसम्म मुलुकको समृद्धि सम्भव नभएको उल्लेख गर्दै उपमहासचिव पौडेलले युवा जनशक्तिको श्रमलाई स्वदेशमै प्रयोग गरिने बताए । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि उत्पादन बढाउनुपर्ने र त्यसका लागि युवा जनशक्तिलाई स्वदेशमै उत्पादनमूलक काममा लगाउनु अपरिहार्य रहेको उनको भनाई छ ।।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार लिला गिरीले विदेश गएको युवा जनशक्तिलाई स्वदेश फर्काएर सीपमूलक कार्यमा लगाइने बताए । “युवाको विदेश पलायन रोक्ने मात्र नभई विदेशमा रहेको जनशक्तिलाई स्वदेश फर्काउने गरी अवको सरकारले काम गर्ने छ”–उनले भने । उनले युवहरुको समस्या समाधान र उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि बाम गठबन्धनले बहुमत ल्याउनु जरुरी रहेको बताए ।
युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका समानुपातिक उम्मेदवार गोपाल भट्टराई, माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल जिसी, एमालेका गोपाल राना, क्रृषि पाण्डे, मोहन चापागाईं, युवा नेताहरु ध्रुव आचार्य, स्ुजु मल्ल, सुमन पुरीलगायतले बाम गठबन्धनको बहुमतको सरकारले मात्रै युवाहरुको मुद्दालाई संबोधन गर्न सक्ने बताएका थिए ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.