सैनामैनामा विशाल जलासय निर्माण गरिने

 

चुरे संरक्षण र जलपर्यटन प्रबद्र्धन गर्ने लक्ष्य
बुटवल १२ मंसिर । चुरे संरक्षण र जलपर्यटन प्रबद्र्धन गर्ने लक्ष्य सहित रुपन्देहीको सैनामैनामा विशाल जलासय निर्माण गरिने भएको छ । सिंचाइ सुविधा पुर्याउने तथा चुरे भावर संरक्षण गर्ने उद्देश्य राखेर उक्त क्षेत्रमा जलासय निर्माणको प्रकृया अगाडी बढाइएको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले बताए ।
कार्कीका अनुसार मुर्गियादेखि ५ किलोमिटर भित्र चुरे पहाडको काखमा ५० विगाहा जमिनमा फैलिएको ४० मिटर अग्लो बांध सहितको जलासय निर्माण गर्न लागिएको हो । पूर्व अर्थमन्त्री विष्णु पौडेल र सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले यो आयोजनाको परिकल्पना सहित राष्ट्रपति चुरे संरक्षण समितिमा प्रस्ताव राखेका थिए । चुरे संरक्षण समितिका अध्यक्ष वीरेन्द्र यादवको नेतृत्वमा आएको चुरे संरक्षणका प्राविधिकहरुको टोलीले उक्त स्थानमा त्यस्तो जलासय सम्भव रहेको निश्कर्ष निकालेका छन् । निर्वाचन लगत्तै राष्ट्रपति समक्ष आयोजनाका विषयमा व्रिफिङ् गरेर काम अघि बढाउने योजना रहेको चुरे संरक्षण समितिका अध्यक्ष वीरेन्द्र यादवले बताए ।
करोडौं लिटर पानी अट्ने उक्त जलासयबाट शुद्धोधन र सैनामैना नगरपालिकामा सिंचाइको सुविधा पुर्याउने,भावर क्षेत्रमा जमिनमुनिको पानी रिचार्ज गर्ने तथा जलपर्यटन प्रबद्र्धन गर्ने लक्ष्य राखिएको छ । चुरेको पहाडबाट बग्ने वर्षातको पानी संकलन गरेर जलासय बनाइनेछ । विशाल संरचना सहित निर्माण हुने अग्लो र वलियो बांधलाई ‘लामीरह उच्च बांध’ नाम दिइएको छ ।
जलासयको वरिपरि पर्यटकहरु बस्ने र मनोरञ्जन गर्ने भौतिक संरचनाहरु बनाउने,पानीमा माछा पालन गर्ने,होटल,रिसोर्ट र होम स्टेहरु सञ्चालन गर्ने,बोटिङको ब्यवस्था मिलाउने र सैनामैना क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य छ । जैविक विविधताको संरक्षणका लागि समेत यो आयोजना महत्वपूर्ण हुने भएकाले यसलाई सम्पन्न गर्न पूर्व अर्थमन्त्री विष्णु पौडेलले सक्रियता देखाएका छन् । पौडेलले छोटो समयभित्रै भब्य जलासय बनाएर सैनामैना क्षेत्रलाई कायापलट गर्ने प्रतिबद्धता जनाए ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.