मोतिपुरलाई महानगरपालिकाभित्रको हरियाली शहरको रुपमा विकास गरिने

 

बुटवल, १४ मंसिर ।
बाम गठबन्धनका नेताहरुले रुपन्देहीको मोतिपुरलाई महानगरपालिकाभित्रको हरियाली शहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार आयोजित चुनावी सभालाई संबोधन गर्दै उनीहरुले बामपन्थीको सरकार बनेपछि बुटवल उपमहानगरपालिका आसपासका क्षेत्रलाई समेटेर महानगरपालिका बन्ने र त्यसपछि मोतिपुरलाई महानगरभित्रको हरियाली सहरको रुपमा विकास गर्ने बताएका हुन् ।
सभालाई संबोधन गर्दै एमाले उपमहासचिव एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार विणु पौडेलले मोतिपुरलाई हरियाली, समृद्ध र समुन्नत सहर बनाउने आफ्नो परिकल्पना रहेको बताए । मोतिपुरमा औद्योगिक क्षेत्र बनाउँदा जनताको निजी सम्पत्तिलाई अधिग्रहण नगर्ने यदि गर्नै परे उचित मुआब्जा दिएर मात्र गरिने उनको भनाई छ । “हामीले औद्योगिक क्षेत्र बनाउँदा निजी सम्पत्तिको सुरक्षामा ध्यान दिन्छौं, अधिग्रहण भए त्यसको उचित मुआब्जा दिन्छौं”–उनले भने ।
उपमहासचिव पौडेलले मोतिपुरलाई कृषि र औद्योगिक क्षेत्रको हवका साथै सुरक्षित र आर्थिक सहरको रुपमा विकास गरिने र थारु संस्कृतिको संरक्षणको लागि थारु संग्रहालयको स्थापना गरिने बताए ।
एमालेका अर्का उपमहासचिव एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार घनश्याम भुसालले औद्योगिक क्षेत्र निर्माण गर्दा आफूहरुले स्थानीयलाई उठिबास नलगाउने बताए । “हामी स्थानीय बासिन्दालाई उठिबास लगाउँदैनौ, यदि त्यस्तो अवस्था आए त्यसको व्यवस्थापन गरेर मात्रै गरिने छ”–उनले भने । उपमहासचिव भुसालले युवाहरुलाई कृषि उत्पादनमा लगाएर आत्मनिर्भर बनाइने समेत बताए ।
चुनावी सभालाई माओवादी केन्द्रका नेताहरु हकिकुल्लाह खाँ, निर्मल जिसी, एमालेका गोपा आचार्य, देवराज पोखरेल, खुमराज ढकाल लगायतले संबोधन गरेका थिए ।
यसैबीच एमाले केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर २ प्रदेश सभा १ का उम्मेदवार लिला गिरीले बिहीबार आफ्नो क्षेत्र अन्तर्गत पर्ने तिलोत्तमाको १ नम्बर वडामा घरदैलो गरेका छन् । त्यसक्रममा मतदातासँग भेटघाट गर्दै उनले यस क्षेत्रमा सरकारी मेडिकल कलेज स्थापनाका लागि कुनै कसर बाँकी नराखिने बताए । उनले मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढिसकेकाले यो स्थापना भएपछि यस क्षेत्रको मुहार फेरिने समेत दावी गरे । त्यसक्रममा स्थानीयले यस क्षेत्रको विकास निर्माणदेखि मेडिकल कलेज स्थापनाका लागि लिएको अडान स्वागतयोग्य रहेको बताएका थिए ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.