जनताको हित र देशलाई सम्वृद्ध बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु–गोकर्ण विष्ट

बुटवल । मंसिर १५ । गोकर्ण विष्ट नेपाली राजनीतिमा चर्चित नाम हो । २०२२ सालमा गुल्मीमा जन्मिनुभएका विष्ट हाल गुल्मी क्षेत्र नम्वर २ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ । एमालेका सचिव समेत रहनुभएका विष्टले उर्जा मन्त्री हुँदा लोडसेडिङ हटाउन र उर्जा क्षेत्रको विकासका लागि गरेको काम कसैले विर्सेका छैनन । उर्जामन्त्रीका रुपमा विष्टको कार्यकाल नेपाली राजनीति र जनताको कामका लागि नमूनाका रुपमा रह्यो । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा विएल गर्नुभएका विष्टको राजनिती यात्रा, २०३५/३६ को विधार्थी आन्दोलन वाट शुरु भएको हो । २०५० सालसम्म अनेरास्ववियु सचिवालय र विभागीय प्रमुख, प्ररायु संघको महासचिव हुँदै २०५६ देखि २ कार्यकाल युवा सघको अध्यक्ष बनेका विष्ट एमालेको २ कार्यकाल केन्द्रीय सदस्य, स्थानीय निकाय विभाग प्रमुख, युवा, विद्यार्थी फाटको प्रमुख, वुदिजिवि फाँट ईन्चाज हुँदै नवौ महाधिवेशनबाट केन्द्रीय सचिव हुनुभएको हो । उहाँ गुल्मीबाट संसद् र संविधानसभामा विजयी हुनुभै निरन्तर काम गर्दै आउनुभएका विष्ट सँग मतपत्र नेपाल डटकमका लागि केशव भण्डारीले गरेको संक्षिप्त चुनावी कुराकानी ।

नेपालको राजनीतिक इतिहासमा संघीय संरचना अनुसार प्रदेश र प्रतिनिधिसभाको दोश्रो चरणको निर्वाचनको मतदान हुन एक साता पनि छैन । मतदातालाई के के आश्वासन दिनुभएको छ ?

निर्वाचनका दौरानमा मैले गुल्मीका जनतासामु त्यस्तो कुनै महत्वाकांक्षी र पुरा नहुने आश्वासन दिएको छैन । मैले त यहाँका जनताका समस्या र गुनासा सुनिरहेको छु । उहाँहरुको आशिर्वाद पाइरहेको छु । र मैले मेरो देश, जिल्ला र क्षेत्रका लागि गर्नुपर्ने काम र स्थानीय आवश्यकताबारे छलफल गरिरहेको छु । आमाबुवा, दाजुभाइ, दिदिवैनीका पिरमर्का र गुल्मीको विकासका लागि यो घरदैलो अभियानले मलाइ थप काम गर्न प्रोत्साहन दिएको छ ।

तपाइका मुख्य चुनावी एजेण्डा त होलान नि । छैनन र ?

गुल्मीको विकास र यहाँका जनताको सम्वृद्ध र सुखी जीवनशैली देख्ने र त्यसका लागि काम गर्ने मेरा मुख्य एजेण्डा हुन । युवाहरुलाई कामका लागि विदेशमा भौतारिनुपर्ने अवस्थाको अन्त्यका लागि काम गर्ने मेरा एजेण्डा हुन । अव युवाहरु रोजगार खोज्दै विदेशिने अवस्था् अन्त्ये हुनुपर्छ । युवाहरुको सिप र परिश्रम तथा पौरखले देश बदल्नुपर्छ । त्यो अनिवार्य छ ।

विकास निर्माण र दैनन्दिन समस्याका कुरा पनि त छन नि जनताका ?

हो । पुर्वधार विकास र सम्वृद्धिका लागि अव कुरा मात्रै गरेर हुन्न काम तिव्र गतिमा गर्नुपर्छ । गुल्मी क्षेत्र नम्वर २ को कुरा गर्दा हरेक गाँउमा सुविधा सहितका सडक, सवैका घरमा शुद्द खानेपानी, खेतियोग्य भूमिमा सिंचाई, गुणस्तरिय शिक्षा र गाउँमै सर्वसुलभ स्वास्थ्य उपचार जस्ता अनिवार्य आवश्यकता पुरा गर्न म सदैव लागि रहेको छु । भोलि पनि लाग्ने छु त्यसैले मैले यहाँका जनतासँग छलफल र सुझाव पनि लिइरहेको छु ।

चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

यहाँका जनताको अपार माया र सहयोगले मलाइ ढुक्क मात्रै हैन पुरै विश्वस्त बनाएको छ । हिजोका दिनमा चुनाव जितेपछि पनि मैले समग्र देश र जनताका पक्षमा काम गरेको यहाँका हरेक घर र ब्यक्तिलाइ थाहा छ । गुल्मीको विकासमा मैले खेलेको भूमिकाबारे पनि सवै गुल्मीबासीलाई जानकारी छ । अव अझै धेरै गर्न पनि जनताले मलाई जिताउनेमा कुनै शंका छैन ।

उर्जा मन्त्री हुँदा देशभरका जनतावाट वाहवाही पाउनुभयो । सवैले देश र जनताको पक्षमा काम गर्ने मन्त्री गोकर्ण विष्ट हुन भनेर तारिफ गरे । एमालेको सचिव पनि हुनुहुन्छ । निर्वाचन पछि बन्ने सरकार र निर्वाचित हुनुभयो भने तपाइको प्राथमिकता के हुनेछ ?

यो निर्वाचनबाट बाम गठबन्धनले बहुमत ल्याउने छ । त्यसपछि बहुमतको सरकार र राजनीतिक स्थिरतासँगै आर्थिक संवृद्धि मुख्य कार्यभार हुनेछ । अव सत्तामा पुग्न हुने हानथाप र बर्षैपिच्छे फेरिने सरकार इतिहासमा सिमित हुने समय आउँदैछ । संविधानको कार्यन्वयन र जनताको विकास मार्फत जीवनस्तर सुधार गर्दै देशलाई सम्वृद्ध बनाउनु हाम्रो मुख्य कार्यभार हो । त्यसका लागि प्रभावकारी भूमिका निर्वाह गर्न चाहन्छु ।

अनि गुल्मीको हकमा नि ?

गुल्मीको विकास रोकिने छैन । तिव्र गतिमा हुनेछ । अहिलेलाई यत्ति भन्छु कि गुल्मीलाइ देशको नमूना जिल्ला बनाउने मेरो सोच छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.