एमालेका दुई उप–महासचिवले भनेः ‘रुपन्देहीको समग्र विकासको जिम्मा लिन्छौं’

 

हामी एक अर्काका परिपुरक हौं, एकको अनुहारमा अर्काको छाया देख्नुहोस्’
भैरहवा, मंसिर १६ । नेकपा एमालेका उप–महासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसालले रुपन्देहीको समग्र विकासको जिम्मा लिन आफूहरु तयार रहेको प्रष्टाएका छन् । सुरु भएका विकासका आयोजनाहरु सम्पन्न गर्दै रुपन्देहीलाई विकासको नमूना जिल्ला बनाउन उनीहरुले बाम गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरे ।
शनिबार भैरहवामा नेकपा माओवादी केन्द्रका नेताहरु समेत सम्मिलित पत्रकार सम्मेलनमा उप–महासचिवद्धय पौडेल र भुसालले जिल्लामा हाल सञ्चालन भैरहेका विकासका ठूला आयोजनाहरुमा आफूहरुको भूमिका महत्वपूर्ण रहेको प्रष्टाए । ‘भैरहवामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन संसदमा हस्ताक्षर बुझाउँदा हामीहरु दुवै जना सांसद थियौं ।’ उप–महासचिव पौडेलले भने, ‘त्यसले अहिले साकार रुप लिँदैछ । भैरहवामा अरु पनि विकासका पूर्वाधारहरु बनाउनुछ । घनश्यामको साथ पाउँदा यहाँ धेरै काम गर्न सकिन्छ ।’
अर्का उप–महासचिव भुसालले बलियो सरकार गठन भएमा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य नौ÷दश महिनामा सकिने बताउँदै त्यसपछि पर्यटन प्रवद्र्धनका कामहरु गरिँदा समग्र रुपन्देहीकैं कायापलट हुने बताए । उनले भैरहवामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने, बुटवलमा जस्तै अन्तर्राष्ट्रिय स्तरको सभाहल बनाउनेलगायत विकासको प्रष्ट भिजन बामगठबन्धनसँग रहेको जनाए । मुलुको समृद्धिको लागि लुम्बिनीको विकास हुनुपर्ने र लुम्बिनीको विकास हुन भैरहवाको विकास हुनुपर्ने उनले बताए ।
आफूले विगतमा एक्लै जित्दा विकासका कतिपय कामहरु चाहेर पनि गर्न नसकेको बताउँदै उप–महासचिव पौडेलले यसपटकको चुनावमा बामगठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरे । यसअघि बुटवल क्षेत्रबाट चुनाव जितेका पौडेल अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार छन् भने ८६ मतले हारेका भुसाल रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार हुन् ।
‘उहाँ (भुसाल) ले चुनाव त जितिसक्नुभयो । म सबैलाई आग्रह गर्न चाहन्छु–उहाँलाई धेरैभन्दा धेरै मतले जिताऔं । मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि उहाँको खाँचो छ ।’ उप–महासचिव पौडेलले भने, ‘क्षेत्र नं. ३ मा उहाँसहित विश्वासजी र तुलसीजीको जीत पनि सुनिश्चित भैसक्यो । कसैलाई विश्वास लाग्दैन भने भैरहवाका टोल–टोल, टिकुलिगढ, सियारी, ओमसतिया, शुद्धोधन, सेमलार, मोतिपुरका गाउँ–गाउँका मतदातालाई सोधे हुन्छ ।’ उनले क्षेत्र नं. ३ मा भुसालसहित बामगठबन्धनका उम्मेदवारहको जीतको जिम्मा आफूले लिने प्रष्टाए ।

‘हामी एक अर्काका परिपुरक हौं । एकको अनुहारमा अर्काको छाया देख्नुहोस्’
पत्रकार सम्मेलनमा उप–महासचिवद्धय पौडेलले आफूहरु एक अर्काको परिपुरक भएको पनि बताए । उनले भने, ‘घनश्यामजीमा जे क्षमता छ त्यो म मा छैन । म मा जे क्षमता छ त्यो घनश्यामजी मा छैन । यसको फ्युजन हुँदा देश र रुपन्देहीले काँचुली फेर्छ ।’ उनले आफूहरु प्रतिस्पर्धी नभएको जनाए । ‘हामीहरु दुवै जनाले पार्टीमा चुनाव जितेर उप–महासचिव भएका हौं । कार्यकर्ताले हामी दुईजना नै पार्टीमा आवश्यक छ भनेर पठाए ।’ नेता पौडेलले अगाडि भने, ‘हामी दुई प्रतिस्पर्धी होइनौं । यसमा कसैलाई भ्रम नरहोस् ।’ उनले बाम एकतादेखि विकासका धेरै काममा नेता भुसाल र आफ्नो उत्तिकै भूमिका रहेको जनाए । उपमहासचिव पौडेलले एकको अनुहारमा अर्काको छायाँ देख्न कार्यकर्ता र मतदातालाई आग्रह गरे । उनले भने, ‘विष्णु पौडेलको अनुहारमा घनश्याम भुसालको छायाँ देख्नुहोस्, घनश्याम भुसालको अनुहारमा विष्णु पौडेलको छायाँ देख्नुहोस् ।’
नाम नलिइकन क्षेत्र नं. ३ का राप्रपा प्रजातान्त्रिकका उम्मेदवार दीपक बोहराले उप–महासचिव भुसालसँग आफ्नो प्रतिस्पर्धा छ भनेर अफवाह फैलाउने दुष्प्रयास गरेको चर्चा गर्दै नेता पौडेलले भने, ‘हामी विरुद्धका कुनै पनि अफवाहले अब काम गर्न सक्दैनन् । हामीहरु एकठिक्का छौं । यस्तो घृणित दुष्प्रचारको प्रभावमा कोही पनि नपरौं ।’ कुनै विचार, दृष्टिकोण, मूल्यमान्यता नै नभएको उम्मेदवारसँग भुसालको प्रतिस्पर्धा नै रहेको चर्चा गर्दै नेता पौडेलले विकास, समृद्धि र स्थायित्व चाहने क्षेत्र नं. ३ का बासिन्दालाई अहिले महत्वपूर्ण अवसर आएको बताए । ‘घनश्याम भुसालको विकल्पमा मतदान गर्न सक्ने उम्मेदवार क्षेत्र नं. ३ मा कोही छैन । विगत राम्रो नभएकाले केही काम गर्न पनि सक्दैन ।’ नेता पौडेलले भने ।
नेता पौडेलले चुनावपछि माओवादीसँग एमालेको पार्टी एकता हुने पनि दोहोर्याए । समय अभावका कारण माओवादीसँग चुनावअघि एकता हुन नसकेको उल्लेख गर्दै उनले चुनावपछि पार्टी एकता हुनेमा कुनै शंका नगर्न एमाले र माओवादीका कार्यकर्तालाई आग्रह गरे ।
सोही अवसरमा उपमहासचिव भुसालले रुपन्देहीमा बामगठबन्धनको विजय सुनिश्चित भैसकेको बताए । पार्टीभित्र उप–महासचिव पौडेल र आफ्नो आ–आफ्नै भूमिका रहेको चर्चा गर्दै उनले विरोधी उम्मेदवारले फैलाएको मिथ्या भ्रमलाई चिर्नुपर्ने बताए । क्षेत्र नं. ३ मा कम्युनिष्ट र कांग्रेसलाई लडाउने प्रयत्न सफल नभएको बताउँदै उनले कतिपय अवाञ्छित क्रियाकलाप रोकिएको बताए । विकासप्रति आफ्नो प्रष्ट भिजन रहेको उल्लेख गर्दै उनले मतदातालाई भ्रममा नपर्न आग्रह गरे ।
सो अवसरमा क्षेत्र नं. ३ (१) का प्रदेशसभा उम्मेदवार विश्वास बरालले आफू १५ वर्षदेखि रुपन्देहीमा रहेर राजनीति गरेको उल्लेख गर्दै झुट्टा आश्वासन, भ्रम, अफवाहको भरमा कसैले चुनाव नजित्ने बताए । उनले बाम गठबन्धनले विजयले मात्र समग्र रुपन्देहीको विकास संभव हुने बताए

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.