काठमाडौ । मंसिर २० । नेपालको नयाँ राजनीतिक संरचनामा संघीयता अनुसार मंसिर २१ गते बिहिवार हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सबै तयारी पुरा भएको छ । निर्वाचन आयोगले चुनावको सम्पुर्ण तयारी पुरा भएको जनाउँदै ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ ।
सातवटै प्रदेशका ४५ जिल्लामा हुने निर्वाचनबाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १२८ र प्रदेशसभामा २५६ जनप्रतिनिधि चुनिने छन् भने कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता मध्ये विहिवारको निर्वाचनका १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदातालाई मतदान गर्ने अधिकार रहेको छ ।
संविधान कार्यान्वयन गर्दै संघीय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र राजनीतिक स्थीरतासँगै मुलुकलाई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक हुनेछ ।
निर्वाचनका लागि ४५ जिल्लामा ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ केन्द्रमा मतदान छन् । मतदान सकिँए लगत्तै पहिलो चरणको निर्वाचन भएका क्षेत्रको विहिवार साँझ पाँच बजेदेखि मतगणना समेत शुरु गर्ने निर्वाचन आयोगको तयारी छ । विहिवार निर्वाचन हुने क्षेत्रको मतगणना पनि मतपेटिका गणनास्थल पुर्याए लगत्तै शुरु हुने बताइएको छ ।
विहिवार हुने निर्वाचनमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १ हजार ६ सय ६३ र प्रदेशसभामा २ हजार ८ सय १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस्तै समानुपातिक प्रणाली तर्फ प्रतिनिधिसभामा १ सय १० र प्रदेश सभाका २ सय २० पदका लागि ६ हजार ९४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
पहिलो चरणमा उच्च पहाडी र हिमाली ३२ जिल्लामा मंसिर १० गते मतदान भैसकेको छ ।