व्यापार मेलाको अस्थायी संरचना निर्माणका लागि ८० लाख खर्च

 

 

बुटबल, पुस २५ गते ।

तिलोत्तमा व्यापार संघले बुधबारदेखि सञ्चालन गर्न
लागेको व्यापार मेलाको अस्थायी संरचना निर्माणका लागि ८० लाख रुपैयाँ खर्च
भएको छ ।मेला आयोजक तिलोत्तमा व्यापार संघका अनुसार मुख्य गेट निर्माण, स्टल
निर्माण, मेलास्थल सम्याउने, सचिवालय निर्माण, विभिन्न पेभेलियनहरुका साथै
अन्य निर्माण कार्यका लागि ८० लाख रुपैयाँ खर्च भएको हो । स्थायी मेलास्थलको
अभावमा संघले तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित गणेश पाठकको निजी
जग्गामा व्यापार मेला गर्न लागेको हो । संघका अध्यक्ष झविन्द्र प्रसाद कंडेलले
स्थायी मेलास्थल नहुँदासम्म वर्षेनी ठूलो रकम अस्थायी संरचना निर्माणमा खर्च
हुने अवस्था रहेको बताउनुभयो ।तिलोत्तमा व्यापार संघले पहिलोपल्ट व्यापार
मेलाको आयोजना गर्न लागेको हो । मेलामा कालीगण्डकी–तिनाउ डाईभर्सन
आयोजनाको झल्को दिनेगरी नमुना प्रदर्शन गरिने अध्यक्ष कंडेलले बताउनुभयो
। त्यस्तै आयोजनाको नमूना परीक्षणका साथमा विद्युत उत्पादन मेसिन समेत
प्रदर्शन गरिने भएको छ ।यस क्षेत्रलाई व्यापारिक तथा पर्यटकीय क्षेत्रका रुपमा
विकास गर्ने र स्थानीय वस्तुहरुको बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले सञ्चालन गर्न
लागिएको मेलामा ३२५ स्टल सहभागी हुने भएका छन । आवश्यकता भन्दा बढी स्टल
दर्ताका लागि आएपछि करिव १ सय स्टललाई फिर्ता पठाउनु परेको अध्यक्ष
कंडेलले जानकारी दिनुभयो । माघ ९ गतेसम्म चल्ने मेलामा ३ लाख दर्शकले
अवलोकन गर्ने र करिव १५ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य
आयोजकहरुले लिएका छन । मेलालाई आकर्षण प्रदान गर्न पर्यटकीय स्थलहरुको
फोटो तथा वृत्तचित्र प्रदर्शनी, हेलिकोप्टर टुर प्याकेज, राष्ट्रिय कलाकारको
प्रस्तुती, भलिबल, कुस्ती र कराँते प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष कंडेलले
बताउनुभयो ।मेलामा प्रवेशका लागि सर्वसाधारणका लागि रु ५०, विद्यार्थीका लागि
रु ३० टिकट दर कायम गरिएको छ भने अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई
निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको संघका महासचिव विष्णु बरालले जानकारी
दिनुभयो । मेला सञ्चालन अवधिभर आर्थिक तथा पर्यटकीय विषयमा विभिन्न
गोष्ठीहरु समेत सञ्चालन गरिने भएको छ । यसले व्यावसायिक क्षमताको अभिवृद्धि
हुने अध्यक्ष कंडेलले बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.