सर्वोच्चद्वार डाक्टर केसीलाई साधारण तारेखमा रिहा गर्न र प्रधानन्यायाधीश पराजुलीका नागरिकता तथा शैक्षिक प्रमाणपत्र झिकाउन आदेश

काठमाडौ । पुस २६ । सर्वोच्च अदालतले अनसनरत डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका दुवै नागरिकता झिकाउन तथा न्यायपरिषदबाट उमेरका सम्वन्धमा भएका निर्णय तथा शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका केसीलाई न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।

डाक्टर केसीलाई बुधवार पुनः सर्वोच्च अदालत उपस्थित गराईएपछि उहाँ विरुद्धको मुद्दामा दुई पक्षबीच बहस भएको थियो । केसीमाथि लगाइएको अदालतको अवहेलना मुद्दा सुनुवाइ भएको थियो । सर्वोच्च अदालतका तर्फबाट वरिष्ठ अधिवक्ताहरु उपेन्द्रकेशरी न्यौपाने तथा रमण श्रेष्ठ लगायतले बहस गर्दै केसीले अदालतको मानहानी गर्नुभएको भन्दै कारवाही गर्नुपर्ने जिकिर गर्नुभएको थियो ।

यस्तै डाक्टर केसीका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र दिनेश त्रिपाठी बहस गर्नुभएको थियो । डाक्टर केसीले बहस शुरु हुनुअघि पत्रकारसँग प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई बर्खास्त नगरेसम्म आन्दोलन नरोक्ने बताउनुभएको थियो ।

न्यायालय राजनीतिक दलको भर्ती केन्द्र बनेको भन्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग सहित केसीले सोमवार देखि अनसन थाल्नुभएको थियो । त्यसलगत्तै अदालतको अबहेलना मुद्धामा डाक्टर केसीलाई उपस्थित गराउन सर्वोच्चले आदेश दिएपछि उहाँलाई अनसनस्थलबाटै पक्राउ गरि प्रहरीले हिजो बिहान पौने ९ बजे अदालतमा उपस्थित गराएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.