ट्रयाक्टर समितिमा पदस्थापन

 

 

तिलोत्तमा, पुस २७ । लुम्बिनी ट्रयाक्टर समितिमा नयाँ नेतृत्वको पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । समितिको हालै सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले खेमप्रसाद गौतमको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।

सोही समितिको पदस्थापन कार्यक्रम शुक्रबार प्रदेशसभा सदस्य लिला गिरीको प्रमुख आतिथ्यतामा तिलोत्तमा–९, शंकरपुरमा भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि गिरीले कृषिको आधुनिकीकरणमा ट्रयाक्टरको भूमिका महत्वपूर्ण रहने बताए । किसानको मन जितेर काम गर्न ट्रेक्टर धनीहरुलाई आग्रह गर्दै प्रदेशसभा सदस्य गिरीले ट्रेक्टरधनीले हाल भोगिरहेका समस्या समाधान गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष गौतमले कृषि कार्यमा ट्रेक्टरको प्रयोग बढ्दै गए पनि राज्यको ट्रेक्टरधनीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताए । उनले ट्रेक्टर खरिदमा लगाइएको मूल्य अभिवृद्धि कर फिर्ता लिन माग गरे । कार्यक्रममा समितिका सल्लाहकार नवराज श्रेष्ठ, दूर्गा खरेल, ध्रुवकुमार धिताललगायतले बोलेका थिए ।

निर्वाचन समितिका संयोजक तथा समितिका पूर्वअध्यक्ष उदय बहादुर गुरुङको अध्यक्षता तथा अर्जुनराज उपाध्यायको सञ्चालनमा कार्यक्रम भएको हो । समितिको नयाँ कार्यसमितिको उपाध्यक्षमा नेत्रप्रसाद घिमिरे, महासचिवमा कृष्ण तिवारी, सचिवमा रामप्रसाद बस्याल तथा कोषाध्यक्षमा स्वयम्बन्धु कार्की रहेका छन् ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.