केशव भण्डारी
बुटवल । माघ ३। लामो समयसम्मको अनिश्चितता र खिचातानीपछि सरकारले अन्तत संघीय संरचना अनुसार प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकेको छ । सरकारले पाँच नम्वर प्रदेशको अस्थायी केन्द्र बुटवल लाइ कायम गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको बुधबार दिउसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको हो ।
मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकेको हो ।
सरकारले संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेशसभाले प्रदेशको राजधानी नतोकेसम्म उपधारा ३ बमोजिम प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी स्थान तोकेको हो ।
यसैगरी प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा,प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला, प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ललाई प्रमुख तोकिएको कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिनुभयो ।
संविधानको धारा १६३ बमोजिम सरकारको प्रतिनिधिका रुपमा प्रदेश प्रमुख नियुक्तिको सिफारिस मन्त्रिपरिषदले गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।
नवनियुक्त सुब्बा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक तथा कोइराला माइती नेपालकी अध्यक्ष हुनुहुन्छ। दुवै काँग्रेस निकट हुन । यस्तै कुँबर पूर्वमहान्यायाधिवक्ता हुनुहुन्छ भने झा पुर्वमन्त्री तथा खनाल, कायस्थ र मल्ल राजनीतिक ब्यक्तिहरु हुन ।
प्रधानमन्त्रीको निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रदेशको अस्थायी केन्द्र तोक्नेबारे विवाद भएको बताइएको छ ।
खासगरी बुटवललाई की दाङलाइ पाँच नम्वरको केन्द्र तोक्ने भन्नेमा बढी विवाद भएको बताइएको छ ।
यसअघि बुधवार विहान पनि त्यही बिषयमा कुरा नमिलेपछि बैठक दिउँसोका लागि सारिएको थियो ।
उता प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रमुख तोक्न खोजेपनि एमाले र माओवादीले सरकारको काम भन्दै पन्छिएपछि मधेस केन्द्रीत संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालसँग छलफल गरेर प्रदेश प्रमुखको नियुक्ति गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अव सरकार गठनको बाटो समेत खुलेको छ ।