प्रदेश सदस्यहरुले लिए शपथ, पाँच नम्वरमा शपथपछि एमाले सांसदको बैठक र काँग्रेसको चियापान

केशव भण्डारी
बुटवल । माघ ७ । पाँच नम्बर प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मालाई शपथ गराउनुभएको थियो ।

त्यसपछि शर्माले अन्य सदस्यहरुलाई शपथ गराउनुभएको थियो । पाँच नम्वर प्रदेशका १२ जिल्लाबाट प्रत्यक्ष ५२ समानुपातिक ३५ गरि ८७ जना प्रदेश सदस्य छन् ।

बसपार्क नजिकै उद्योग बाणिज्य संघको हलमा भएको शपथ ग्रहण समारोह विशेष बनाइएको थियो । कार्यक्रममा राजनीतिक दलका वरिष्ठ नेताहरु पनि सहभागी भएका थिए ।

शपथ सकिए लगत्तै एमालेका सांसदहरुको बैठक पार्टीको प्रदेश कार्यालयमा शुरु भएको छ । यसैगरी काँग्रेसले आफ्ना प्रदेश सांसदका लागि चियापान आयोजना गर्दैछ ।

यसैगरी प्रदेश नम्बर दुईमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई जनकपुर उद्योग वाणिज्य संघको हलमा शपथ गराउनुभयो । त्यसपछि अन्य सदस्यहरुलाई चौधरीले शपथ गराउनुभएको छ । सदस्यहरुले मातृभाषामा समेत शपथ लिएका छन् । शपथका क्रममा भाषाबारे विवाद समेत भएको थियो । दुई नम्बर प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सदस्य छन् । प्रदेश नम्बर २ को प्रदेश सभा अधिवेशन माघ २१ गतेका लागि तय भएको छ ।

यता, एक नम्बर प्रदेश प्रमुख गोविन्दबहादुर सुब्बाले ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई विराटनगरस्थित वीरेन्द्र सभागृहमा शपथ गराउनुभएको छ त्यसपछि अन्य सदस्यलाई सरावगीले शपथ गराउनुभएको छ ।

यस्तै प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई हेटौंडास्थित मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा शपथ गराउनुभयो । त्यसपछि पौडेलले अन्य सदस्यलाई शपथ गराउनुभयो ।
प्रदेश नम्बर तीनमा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ सदस्य छन् ।
प्रदेश नम्बर चारमा प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ प्रदेश सदस्य जनकलाल श्रेष्ठलाई पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । त्यसपछि श्रेष्ठले अन्य सदस्यहरुलाई शपथ गराउनुभयो । शपथ ग्रहण कार्यक्रममा मनाङका प्रदेशसभा सदस्य दीपक मनाङ्गे र तनहुँका रामबहादुर गुरुङ
उपस्थित भएनन्। चार नम्बर प्रदेशमा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ सदस्य छन् ।

प्रदेश नम्वर छ नम्बर प्रदेशका ४० सदस्यको शपथ सुर्खेतस्थित जिल्ला समन्वय समितिको सभाहलमा गराइने भएको छ ।६ नम्वर प्रदेशमा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी ४० सदस्य छन् ।

त्यस्तै सात नम्बर प्रदेशका ५३ सदस्यले जिल्ला समन्वय समिति कैलालीको सभा कक्षमा शपथग्रहण गर्दैछन् । ७ नम्वर प्रदेशमा प्रत्यक्ष तर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना सदस्य छन् ।

प्रदेश सांसदको सपथ भएपछि प्रदेश सभाको पहिलो बैठक बस्नेछ। निर्वाचन आयोगले प्रेदश प्रमुखलाई प्रदेश सभाको परिणाम बुझाएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक बस्नु पर्ने संईवैधानिक व्यवस्था छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.