३ लाख १० हजार दर्शक, १८ करोडको कारोबार तिलोत्तमा व्यापार मेला सकियो

 

तिलोत्तमा, ९ माघ । तिलोत्तमा व्यापार संघको आयोजनामा मणिग्राममा संचालित तिलोत्तमा व्यापार मेला मंगलबार सम्पन्न भएको छ । मेलामा ३ लाख १० हजार दर्शकले अवलोलकन गरेको र करिव १८ करोड आर्थिक कारोवार भएको आयोजकहरुले बताएका छन् । व्यवसायिक दक्षता अभिवृद्वि र स्वरोजगार, सुदृढ आर्थिक विकासका निम्ती व्यापार विस्तार भन्ने नाराका साथ गत पुस २६ गतेदेखि मेला शुरु भएको थियो । समापन कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले अवको लक्ष्य मुलुकको आर्थिक सम्वृद्वि र विकास भएको बताएका छन् । उनले उद्योग ब्यवसायको क्षेत्रमा रुपन्देही सम्भावित जिल्ला भएकाले सोही अनुसार विकास गर्नुपर्ने बताए ।
उनले उद्योगीहरुलाई लगानी मैत्री वातावरण आवश्यक रहेको उल्लेख गर्दै लगानी मैत्री वातावरणका लागि आफुप्रतिवद्व रहेको बताए ।
पूर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले रुपन्देहीलाई उत्कृष्ट जिल्ला बनाउने गरी सबैको सहभागितामा विकास गर्नुपर्ने बताए । उनले पांच नम्बर प्रदेश विभाजन गर्ने षडयन्त्र असफल भएको स्मरण गर्दै प्रदेशको स्थायी राजधानी पनि रुपन्देहीनै हुने दाबी गरे । उनले जिल्लाको समग्र बिकासका लागी केहि ठुला आयोजना संचालनमा रहेको उल्लेख गर्दै आर्थिक बिकासमा त्यसले टेवा पुग्ने विश्वास व्यक्त गरे । पूर्वमन्त्री पौडेलले जनताको चाहान अनुसार पांच नम्बर प्रदेशलाई नमुनाको रुपमा विकास गरिने बताए ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले राजनीतिक एजेण्डा पुरा भएकाले अब देशको आर्थिक सम्वृद्वि हुनेगरी विकासका कामहरुलाई अगाडी बढाउनु पर्ने बताए ।
मेला आयोजक संस्था तिलोत्तमा ब्यापार संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक झविन्द्र कंडेलले मेला पूर्ण रुपमा सफल भएको बताए । उनले मेलाले दर्शक सहभागिता र आर्थिक कारोबारमा लिइएको लक्ष्य पुरा भएको बताए । मेला सम्पन्न गर्न सहयोग गर्ने र अवलोकन गर्न आउने सबैलाई अध्यक्ष कंडेलले धन्यबाद ज्ञापन गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रिय सदस्य टंक पोखरेल, रुपन्देही उद्योग संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, मुल्याङ्गक उपसमितिका संयोजक रोहितराज क्षेत्री लगायतले बोल्दै मेला महोत्सवहरुले आर्थिक विकासमा टेवा पुराउने गरेको बताए ।
आर्थिक सम्वृद्विका लागि स्थायी सरकार आवश्यक पर्ने र नीजि क्षेत्रका लागि लगानी मैत्री वातारण आवश्यक रहेको उनीहरुको भनाई छ ।
सोही अवसरमा बिभिन्न उपसमितिका संयोजकहरु, उत्कृष्ट स्टलहरु तथा उद्योगीहरुलाई सम्मान गरिएको थियो ।
अध्यक्ष झविन्द्र कंडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष बाबुलाल भुसालको स्वागत र महासचिव विष्णु बरालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.