शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई सुदृढ गर्दै समुन्नत राष्ट्र निर्माण गर्नुपर्छ–राष्ट्रपति भण्डारी

बुटवल । माघ १६ । आज माघ १६ गते शहीद दिवस । नेपालमा प्रजातन्त्र स्थापना र जनताको हक अधिकारका लागि ज्यानको प्रवाह नगरि बलिदानी दिएका शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा बलिदान दिने शहीदहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ ।
विक्रम संवत् १९ सय ९७ साल माघ १० गते निरंकुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी प्रजातन्त्र ल्याउन र नेपाली जनतालाई आफ्नो हक र अधिकारकालागि क्रान्ति गर्न प्रेरित गर्ने शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा माघ १० देखि १६ गतेसम्मको सप्ताहलाई शहीद सप्ताहका रुपमा मनाउने गरिन्छ । शहीद दिवसको मुख्य दिनका रुपमा माघ १६ गते विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।
राणाहरुले प्रजातन्त्र ल्याउने आन्दोलनमा सक्रिय शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित खरिकोबोटमा झुन्ड्याएर मारेका थिए । यसैगरी धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा फाँसी दिईएको थियो भने दशरथ चन्द र गंगालाल श्रेष्ठलाई माघ १५ गते राजधानीकै शोभा भगवतीमा गोलीहानी हत्या गरिएको थियो ।
शहीद दिवसको सन्दर्भमा काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, निजामति सेवाका उच्चपदस्थ अधिकारी तथा सर्वसाधारणको उपस्थितिमा शहीदहरुप्रति माल्यार्पण गरिएको छ । माल्यापर्ण यसैगरी शहीद गेट लगायत विभिन्न स्थामा रहेका शहीदका शालिक रहेका क्षेत्रमा पुगेर सर्वसाधारणले शहीदको स्मरण गर्दै सम्मान गरिएको छ ।
यो दिवसमा शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवनको बलिदान एवं प्रजातान्त्रिक आन्दोलनहरुको स्मरण गर्ने गरिन्छ ।
तर २०४६ सालको प्रजातन्त्र स्थापनापछि भएका विभिन्न आन्दोलन र दलीय स्वार्थमा भएका हुलहुज्जतमा मर्न र मार्न उक्साउनेहरुकै कारण ज्यान गुमाउनेहरुलाई पनि शहिद घोषणा गर्दै १० दिने प्रवृतिले पछिल्लो समय सच्चा शहीदको अपमान भैरहेको र शहीद शब्दकै दुरुपयोग बढ्न थालेको भन्दै जनस्तरमा गुनासो हुने गरेको छ । शहीदको सच्चा श्रद्दान्जलीका लागि लोकतान्त्रिक विधि र पद्दती अनुसार शासन ब्यवस्था अघि बढाउनुपर्नेमा समेत सर्वसाधारणले जोडदिने गरेका छन् ।
यसैबीच शहीद दिवसमा सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र नेपाली जनताको लागि शाहदत हासिल गरेका अमर शहीदहरुलाई सम्मान गर्ने शहीद दिवसको उपलक्ष्यमा सबैलाई राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्त रूपले समाहित हुन प्रेरणा
प्रदान गर्ने आदरणीय ज्ञात-अज्ञात शहीदहरूको सपना साकार पार्न कृतसंकल्पित बन्न अभिप्रेरित
गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ।
सन्देशमा भनिएको छ– देश र जनताको लागि आफ्नो जीवनको आहुती दिने वीर शहीदहरु प्रति सम्झना र सम्मान गरी यस वर्ष पनि विविध कार्यक्रम सहित शहीद दिवस मनाइँदै छ । इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको प्रतिफल स्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको हो । अब यस महत्वपूर्ण अवसरको सदूपयोग गरी न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनु पर्दछ । मुलुक र मुलुकबासीको लागि आफ्नो अमूल्य जीवन वलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुने यथार्थलाई हामीले सधै ख्याल गर्नु पर्दछ । वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदहरूको
बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा मात्र
शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने भएकाले यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर
मन, वचन र कर्मले लाग्न जरुरी छ ।
राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवं मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान
शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले
जन्माएका सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.