बुटवल । माघ १६ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज अकस्मात नेपाल भ्रमणमा आउने तय भएको छ । नेपालमा राजनीतिक परिस्थिति बदलिन थालेको र जनादेश बमोजिम सरकार निर्माणमा ढिलाइ भैरहेका बेला भारतीय विदेशमन्त्री स्वराज दलका नेताहरुलाई भेट्न काठमाडै आउन लाग्नुभएको हो ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरि विदेशमन्त्री स्वराज दुईदिने भ्रमणका लागि १८ गते विहिवार नेपाल पुग्नुहुने कार्यतालिका सार्वजनिक गरेको छ । दुई देशबीच हुँदै आएको उच्चस्तरीय राजनीतिक वार्ताको निरन्तरता स्वरूप स्वराजको भ्रमण हुन लागेको पनि विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमणका अवसरमा स्वराजले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने समेत मन्त्रालयले जारी गरेको विज्ञप्ति उल्लेख छ। तर नेपाली कुटनीतिज्ञहरुले भने स्वराजको भ्रमणलाई सहज रुपमा लिएका छैनन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरु समेत स्वराजको भ्रमणबारे धेरै जानकारी नभएको बताउँदै भ्रमण पुर्वतयारी र आवश्यक एजेण्डामा नभएको बताउँछन् ।
स्वराजको भ्रमणबारे पर्याप्त पुर्वतयारी छैन र अहिले कुनै त्यस्तो खास एजेण्डा पनि छैन – परराष्ट्रका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।