बुटवल । माघ १६ । सुन्दापनि आङै सिरिङ्ङ लाग्ने, भारतको राजधानी नयाँ दिल्लीमा ८ महिनाकी बालिकालाई आफन्तले नै बलात्कार गरेको घटनाका सार्वजनिक भएको छ ।
ती बालिकालाई घरमा आफ्नै नातेदार पर्ने २८ वर्षीय युवकले बलात्कार गरेको र स्थानीय कलावती अस्पतालमा उपचार भैरहेकी बालिकाको अवस्था निकै नाजुक रहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले अस्पताल पुगेर बालिकाको अवस्था अवलोकन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै कडा कानूनको लागि आग्रह गरेको पनि संचारमाध्यमले जनाएका छन् ।
भारतमा सन् २०१२ मा भएको सामुहिक बलात्कारको घटनापछि सरकारले बलात्कार बिरुद्ध मृत्युदण्ड लगायत कडा कानुन ल्याएको छ । तर बलात्कारका घटना भैरहेका छन् । अधिकारकर्मीहरुले बलत्कार जस्तो जघन्य अपराध नियन्त्रण गर्न सरकार गम्भिर नभएको आरोप पनि लगाउने गरेका छन् ।