काठमाडौं । माघ १६ । मुख्यमन्त्रीका आकांक्षी धेरै भएपछि नेकपा एमालेले आन्तरिक सहमति नभए चुनावी प्रकृयाबाटै मुख्यमन्त्री र सभामुख चयन प्रकृया अघि बढाउने निर्णय गरेको छ ।
एमालेको मंगलवार बसेको स्थायी समिति बैठकले सहमति नभए मुख्यमन्त्री छान्न चुनाव गरेर संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
पार्टी कार्यालय धुम्वाराहीमा बसेको एमाले स्थायी समिति बैठकले सहमतिका लागि माघ २४ हुने राष्ट्रियसभा निर्वाचनको समयसम्म मुख्यमन्त्री र सभामुखकालागि पार्टीभित्र सहमति जुटाउन पर्खने तर सहमति नभए मतदानबाटै संसदीय दलको नेता छानेर मनोनयन प्रकृयामा जाने निर्णय गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनुभयो ।
प्रदेश सरकार निर्माणका लागि एमालेले पाँच नम्वर प्रदेशमा शंकर पोखरेललाई सर्वसम्मत संसदीय दलको नेता चुनेको छ । बाँकी उसले पाएका १,३ र ४ मा प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा एमालेमा बिवाद छ ।
अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतम पक्षका नेताहरु मुख्यमन्त्री बन्ने दौडमा छन् ।
१ मा नेपाल पक्षबाट सचिव भीम आचार्य र ओली पक्षबाट पोलिटब्युरो सदस्य शेरधन राइले दावी गर्दै आएका छन् । यस्तै ३ नम्वर प्रदेशमा नेपाल पक्षबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे तथा ओली पक्षबाट केशव स्थापितले आफुले मुख्यमन्त्री पाउनुपर्ने भन्दै आएका छन् ।
प्रदेश नम्वर ४ मा ओली पक्षका सचिव पृथ्वी सुव्वा गुरुङ र गौतम पक्षका स्थायी समिति सदस्य किरण गुरुङले मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गर्दै आएका छन् ।