नेपालको इतिहासमा पहिलोपल्ट शुरु भयो प्रदेश संसद अधिवेशन

नेपालको राजनीतिक इतिहासमा पहिलोपल्ट संघीय संसदको अभ्यास विहिवार शुरु भयो । पहिलो नम्वरमा ३ नम्बर प्रदेशले आफ्नो काम थालेर प्रदेश संसदको अभ्यास शुरु गरेको छ । तीन नम्वर प्रदेशको प्रदेश सभाको पहिलो अधिवेशन निर्धारित समयमा बिहिवार बसेको हो ।
अस्थायी राजधानी हेटौंडाको क्षेत्रीय शिक्षा निर्देशनालयमा स्थापना गरिएको प्रदेशसभा सचिवालयमा दिउँसो १ बजे शुरु भएको पहिलो अधिवेशनले केन्द्रीय संसदले झै आफ्नो प्रकृया अघि बढायो ।
सभामुखको जिम्मेवारी सम्हाल्नुभएका जेष्ठ सदस्य डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाउनुभएको अधिबेशन आह्वानको पत्र पढेर सुनाएपछि बैठक आरम्भ भएको घोषणा गर्नुभएको थियो । बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस लगायत विभिन्न राजनीतिक दलबाट निर्वाचित प्रदेश सदस्यहरुले प्रेदश राजधानी, संघीयता र प्रदेशको सम्वृद्धि लगायतका बिषयमा आआफ्नो धारणा राखेका थिए ।
त्यसपछि बैठकमा सभामुख पौडेलले प्रस्ताव गरेको प्रेदशसभा संचालन सम्वन्धी आन्तरिक कार्यविधिसहित माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक माघ २७ गते बस्नेछ ।
नेपालको इतिहासमा पहिलो पटक बसेको प्रदेशसभा अधिवेशनको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो। बैठक हलमा ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको थियो । मर्यादापालकलाई पनि तालिम सहित खटाइएको थियो । नेपाल प्रहरीको बम डिस्पोजल टोली खटाइएको थियो  । विहिवारको बैठकको लागि बुधबार नै दुई पटक अभ्यास गरिएको थियो । जसका कारण बैठक सहज रुपमा संचालन भएको हो ।
बैठकमा सहभागी हुन हेटौडा पुगेका अधिकांश नयाँ सदस्यहरु उत्साही देखिन्थे । नेपालले पहिलोपटक संघीयताको अभ्यास गरिएकोले सांसदले मात्रै हैन् पहिलो बैठकलाई सर्वसाधारणले समेत उत्सुकताका साथ हेरेका छन् ।
तीन नम्वर प्रदेशको प्रदेशसभामा नेकपा एमालेका ५८, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २१, विवेकशील साझा पार्टीका ३, मजदुर किसान पार्टी २ तथा राप्रपा, राप्रपा प्रजान्त्रिक र नयाँ शक्तिबाट १/१जना गरि ८ वटा पार्टीका एक सय १० सदस्य छन् ।
प्रदेश नम्बर तीनमा रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, चितवन, ललितपुर, सिन्धुली र मकवानपुर गरि १३ जिल्ला पर्दछन् । ३ नम्वरको प्रदेशसभामा जनजाती आदिवासी सदस्यहरुको बाहुल्यता छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.