रेलमार्गको ठाउँ सार्ने विषयमा नगरपालिका सहमत हुनै सक्दैन , घिमिरे

 

रेलमार्गको विषयमा त्रसित नहुन स्थानीयलाई तिलोत्तमा नगरपालिकाको आग्रह
‘रेलमार्गको ठाउँ सार्ने विषयमा नगरपालिका सहमत हुनै सक्दैन । ठाउँ सार्दै
जाने हो भने रेलमार्ग सम्भव पनि छैन ।’– नगर प्रमुख घिमिरे
तिलोत्तमा, फागुन ५ । तिलोत्तमा नगरपालिकाले पूर्व–पश्चिम विद्युतीय
रेलमार्गको कामलाई यसअघि नै सर्वे भई विस्तृत आयोजना प्रतिवेदन
(डिपिआर) तयार भैसकेकैं स्थानबाटैं अगाडि बढाइनुपर्ने जनाएको छ ।
रेलमार्गका लागि बैकल्पिक स्थानबाट सर्वे गर्न थालिएको भन्दै वडा नं. १ र ४ का
बासिन्दा त्रसित भैरहँदा नगरपालिकाले आफ्नो धारणालाई प्रष्टाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत्को रेलवे विभागले
बुटवलको कालिकानगर क्षेत्रबाट तम्सरिया–बुटवल खण्ड तथा बुटवल–भैरहवा–लुम्बिनी
लिङ्कका लागि यसअघि नै सर्वे गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार
गरिसकेको छ । तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले रेलमार्ग पहिले नै
सर्वे भएको स्थानबाट अघि बढाइनुपर्ने बताउँदै ठाउँ सार्ने विषयमा नगरपालिका
सहमत नरहने बताउनुभयो । ‘रेलमार्गको ठाउँ सार्ने विषयमा तिलोत्तमा
नगरपालिका सहमत हुनै सक्दैन ।’ उहाँले भन्नुभयो, ‘ठाउँ सार्दै जाने हो भने
रेलमार्ग सम्भव पनि छैन ।’
नगरपालिकाले फागुन २ गते नै प्रेस विज्ञप्ति जारी गरी रेलमार्गलाई वडा नं. १
र ४ बाट लैजाने भन्दै गरिएको ‘सर्वे’ प्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त
कार्य बन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको थियो भने सोही विषयलाई
लिएर नगरपालिकाले रेल विभागलाई पत्र पठाइसकेको छ । रेल विभागले
तिलोत्तमाको वडा नं. १ र ४ मा सर्वे नभई ‘अध्ययन’ मात्र गरिएको जनाएको छ ।
नगर प्रमुख घिमिरेले रेलको सर्वे नयाँबाट गर्न थालिएको भन्ने विषयमा
सम्बन्धित क्षेत्रका सांसदहरुको ध्यानाकर्षण गराउँदा उहाँहरुले समेत यसअघि नै
सर्वे भएको स्थानबाट रेलमार्ग अघि बढ्ने कुरामा आफूहरु अडिग रहेको
बताएको बताउनुभयो । ‘नयाँ ठाउँबाट रेलको सर्वे भएको भन्ने विषयमा मैले
यस क्षेत्रका सांसदहरुसँग समेत कुराकानी गरिसकेको छु । उहाँहरुले यसअघि नै
सर्वे भएको ठाउँबाटै रेलमार्ग जाने कुरामा आफूहरु अडिग रहेको कुरा
बताउनुभएको छ ।’ नगर प्रमुख घिमिरेले भन्नुभयो ।
नगरपालिकाले स्थानीय सरकारसँग समन्वय र जानकारीबिना रेलमार्गका लागि अध्ययन
गरिएकाले यो सफल नहुने भन्दै त्रसित नहुन स्थानीय बासिन्दालाई आग्रह गरेको
छ । ‘म स्थानीय बासिन्दालाई ढुक्क रहन र आ–आफ्नो काममा केन्द्रीत हुन
अनुरोध गर्दछु । स्थानीय बासिन्दाको भावना विरुद्ध कुनै काम हुँदैन ।’ उहाँले
प्रष्टाउनुभयो ।
रेल विभागले समेत तिलोत्तमाको वडा नं. १ र ४ मा रेलमार्गको सर्वे नगरिएको
जनाएको छ । तिलत्तोमा वडा नं. १ र ४ का बासिन्दाहरु रेलमार्ग सार्न नदिने
भन्दै बिहीबार नगरपालिकामा डेलिगेशन गएका थिए । उनीहरुले आफूहरु
विकासविरोधी नभएको तर पहिले सर्वे भएकै स्थानबाट रेलमार्ग निर्माण
गरिनुपर्ने बताएका छन् । विद्युतीय रेलमार्गको डिपिआरमा बुटवलको कालिकानगर
भएर रेल लैजाने प्रस्ताव गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.