पाँच नम्वर प्रदेशको राजधानी बुटवलको सुन्दरता बढाउँन बुटवल सफाई अभियान शुरु

 

 

केशव भण्डारी ।
बुटवल, फागुन ८ । पाँच नम्वर प्रदेशको राजधानी बुटवलको सुन्दरता बढाउँन बुटवल सफाई अभियान शुरु भएको छ । सफा र सुन्दर बुटवल भन्ने लक्ष्य सहित प्रजातन्त्र दिवससँगै शुरु भएको अभियान निरन्तर चल्नेछ । स्वच्छ र वातावरणमैत्री शहर बनाउन बुटवल प्रवेशका सवै नाकादेखि मुख्य राजमार्ग क्षेत्रमा सरसफाई अभियान तिव्र पारिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
शहरसफा भए मात्रै बुटवलको गौरव बढाउन सकिने र बुटवलबासी सभ्य छन भन्ने सन्देश दिन सरसफाई अभियानलाई सबैको सहयोगमा अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । राजमार्गसँगै मुख्य बजार क्षेत्र र प्रदेशका मुख्यमन्त्री तथा मन्त्रालयसहितका कार्यालय क्षेत्र हुँदै भित्री सडकहरुमा पनि सफाई अभियान चलाइने छ । सफा शहर अभियानमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बुटवल उपमहानगरसँग मिलेर सफाई अभियानलाई अघि बढाइने प्रदेश ५का मुख्यमन्त्री कार्यालयका सचिव दिपेन्द्र काफ्रले बताउनुभयो ।
अभियानमा आफू बसोबास गरिरहेको क्षेत्र, शैक्षिक संस्था, सरकारी कार्यालय, सार्वजनिक स्थान, नदीनाला लगायतका क्षेत्रहरु सफा राख्न सबैलाई आग्रह गरिएको छ । सरसफाई अभियान अन्तर्गत राजमार्ग तथा सडक पेटीमा राखिएका सबै सामाग्रीहरु हटाउने,अनुमति विना राखिएको होडिङ्वोर्ड निकाल्ने र जथाभावी थुपारिएका गिट्टी बालुवा लगायतका अन्य निर्माण सामाग्री हटाउन थालिएको बुटवल उपमहानगर पालिकाका कार्यकारी अधिकृत धरतमणी पाण्डेलले जानकारी दिनुभयो ।
शहरीकरणसंगै फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा देखिएको छ । सफाई अभियानसँगै फोहरलाई पनि पुनः प्रयोगमा ल्याउने गरि पर्याप्त र दीर्घकालिन काम हुन सके सफाइ अभियानले सार्थकता पाउन सक्छ । त्यसका लागि स्थानीय बासिन्दाको अग्रसरता पनि आवश्यक छ । बुटवल ८ सुख्खानगरकी सरस्वती न्यौपाने भन्नुहुन्छ– सफा बुटवल हाम्रो पनि चाहाना हो । उपमहानगरले अभियान अघि बढाउँदा टोलबासीका रुपमा सवैले सहयोग गर्नुपर्छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.