पुर्वमन्त्री अग्नी खरेल महान्यायाधिवक्ता नियुक्त

बुटवल–फागुन ९ । पुर्वमन्त्री अग्नी खरेल महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम गौरादह-३, झापा निवासी वरिष्ठ अधिवक्ता अग्नि प्रसाद खरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खरेललाई महान्यायाधिवक्ता बनाउन प्रधानमन्त्री ओलीले २०७४ साल फागुन ८ गते मंगलबारका सिफारिस गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली निकटका नेता खरेलले नेपाल ल क्याम्पसबाट २०४१ सालमा कानुनमा स्नातक गरेपछि २०४२ सालमा वकालत सुरु गर्नुभएको थियो ।
खरेल वि.सं. २०४५ मा नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य र २०५४ सालमा बारको महासचिव हुनुभएको थियो ।

२०४७ सालको संविधान निर्माणमा एमाले नेता माधवकुमार नेपालको कानुनी सहयोगीकारुपमा काम गरेका खरेल २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्य, २०६४ र २०७० सालमा संविधानसभा सदस्य, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक हुनुभयो ।

नेपालको संविधान जारी भएपछि वरिष्ठ अधिवक्ता खरेल २०७२ साल असोज २४ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत भैसक्नुभएको छ । उहाँले सांसद हुनका लागि समेत सक्दो प्रयास गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.