काठमाडौ । फागुन २३ ।नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा दोहोराउने गरि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
लामो रस्साकस्सीपछि एमालेको मंगलवार रातिसम्म बसेको स्थायी कमिटी बैठकले दोस्रो कार्यकालका लागि भण्डारीलाई पुनः राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो ।
वामगठबन्धनबीच राष्ट्रपति एमालेको भागमा परेको छ । एमालेको निर्णयसँगै राष्ट्रपतिमा भण्डारी नै निर्वाचित हुने निश्चित छ । संघीय संसद र प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत छ।
राष्ट्रपतिका लागि एमाले वरिष्ठ नेता झलनाथ खनालको समेत दमदार दाबी थियो। तर हिजो डिनरसहित बसेको लामोव स्थायी समितिमा अन्तिम समयमा भण्डारीको नाममा सहमति जुटेको हो ।
बैठकले सर्वसम्मतरुपमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । एमालेले भण्डारी राष्ट्रपतिमा उठाउने भएपछि काँग्रेसले पनि नयाँ उम्मेदवार उठाउने तयारी गरेको छ ।
फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ।
भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ । उहाँ २०७२ साल कात्तिक ११ गते राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।
गठबन्धनको सहमति अनुसार उपराष्ट्रपतिमा माओवादी केन्द्रबाट उम्मेदवार हुनेछन्। राष्ट्रपति दोहोरिए पछि उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनले नै निरन्तरता पाउने माओवादी नेताहरुले बताएका छन्।