आगामी पाँचबर्ष नेपालका लागि असाधारण उपलब्धीको समय ः प्रधानमन्त्री ओली

 

काठमाण्डौ,२४ फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच बर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताउनुभएको छ । ‘आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यो समय सफलता,परिवर्तन र उपलब्धीको समय हुनेछ ।ं’
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रको संरक्षणमा प्रतिवद्ध भएको विश्वास दिलाउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकार सावर्जनिक,निजी र सहकारी मार्फत समृद्धिको यात्रामा अघि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ । ’
वर्तमान सरकार देश र जनताप्रति उतरदायी भएको बताउदै प्रधानमन्त्री ओलीले ‘सरकार भ्रष्टाचारका विरुद्ध र देशको दुरदृष्टिका पक्षमा रहेको’ बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भननुभएको छ ‘सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि,आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रित हुनेछन् । ’ जनताको काम छिटो छरितो ढंगले गर्नका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेपालको आयात र निर्यात व्यापारको खाडल डरलाग्दो भएकोले त्यसलाई पुर्न निर्यातजन्य उत्पादन बढाउन प्रधानमन्त्री ओलीले सुझाव दिनुभएको छ । ‘हामी १०० रुपैंयाको सामान किन्दा ७ रुपैंयाको सामान बेच्दा रहेछौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हरेक पटक हामी ९३ रुपैंया घाटाको व्यापार गरिरहेका छौं । यसलाई उकास्ने एकमात्र माध्यम निर्यात व्यापार बढाउनु हो ।’
पर्यटन व्यावसाय नेपालको अर्थतन्त्र उकास्ने एउटा महत्वपूर्ण स्रोत हुन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । तर यसका लागि पर्यटन मैत्री सडक र होटल हुनुपर्ने प्रधानमन्त्रीको धारणा छ । ‘एकपटक नेपाल आएको पर्यटकले फेरी फेरी पनि आउने चाहना राखोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘एकपटक चन्द्रागीरी डाँडाँमा पुगेको पर्यटक कलंकीको जाम सम्झेर फेरी नफर्कने स्थिती छ । यो अवस्थामा सुधार ल्याउनु आवश्यक छ ।’
संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तयार गरेको सहस्राव्दी लक्ष्य प्राप्त गर्न नेपालले द्रुत गतिमा विकास गर्नुपर्ने,गरिबी हटाउन स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्नु पर्ने प्रधानमन्त्री ओलीके भनाइ छ । ‘यो लक्ष्य प्राप्त गर्न नेपाल प्रतिवद्ध छ । यसमा निजी क्षेत्रको सहयोगको पनि उतिकै जरुरी छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भृकुटी मण्डपमा लागेको व्यापार मेलाको निरीक्षण पनि गर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.