तिलोत्तमा नगरमा वृहद् सरसफाई

 

तिलोत्तमा, चैत १ । तिलोत्तमा नगरपालिकामा बिहीबार वृहद् सरसफाई गरिएको
छ । नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानको
१३ औं श्रृंखला बिहीबार सम्पन्न भएको हो । नगरपालिकाले हरेक महिनाको १ र
१५ गते समुदायमा आधारित सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।
बिहीबार तिलोत्तमा नगरपालिकाका विभिन्न वडाका अतिरिक्त बुटवल–बेलहिया
सिक्सलेन सडकको योगिकुटी–मणिग्राम खण्डमा विशेष सरसफाई गरिएको नगर
प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । मणिग्राम, नयाँमिल,
ड्राइभरटोल, शंकरनगर, जानकीनगर, योगिकुटीबाट एक साथ सरसफाई अभियन्ताहरु
सडकमा निस्किएर सरसफाईमा जुटेका थिए ।
नगरपालिकाले योगिकुटीदेखि मणिग्रामसम्मको सिक्सलेन सडकमा ‘मानव साङ्लो’
को नाम दिएर सरसफाई गरेको हो । सरसफाई अभियानमा जनप्रतिनिधिहरुका
साथै, कर्मचारी, विभिन्न संघ–संस्था, क्लव, आमा समूह, टोल विकास संस्था,
शिक्षण संस्थालगायत स्थानीय बासिन्दाको ठूलो सहभागिता रहेको थियो ।
अभियन्ताहरुले घरमा उत्पादित फोहोर घरमैं व्यवस्थापन गर्न स्थानीय
बासिन्दालाई आग्रह गर्दै सरसफाई अभियानको स्वमित्व लिन व्यक्ति, परिवार र
समुदायलाई आग्रह गरेका छन् । सरसफाई कार्यक्रमको मणिग्राममा शुभारम्भ
गर्दै प्रदेशसभा सदस्य लिला गिरीले अभियानलाई अब व्यक्ति र समुदायको
स्वास्थ्यसँग जोडेर अघि बढाइनुपर्ने बताउनुभयो ।
नगरपालिकाले सुरु गरेको सरसफाई अभियान सबैको साझा अभियान भएकाले यसमा
सबैको सहभागिता रहनुपर्नेमा जोड दिँदै प्रदेशसभा सदस्य गिरीले यो अभियान
अन्य स्थानीय तहका लागि पनि अनुकरणीय रहेको उल्लेख गर्नुभयो । नगरप्रमुख
बासुदेव घिमिरेले सरसफाई अभियानसँगै नगरपालिकाले फोहोरको वैज्ञानिक
व्यवस्थापनका लागि योजना अघि बढाएको जानकारी दिनुभयो ।
हरेक व्यक्ति सचेत भएमा फोहोर कम हुने बताउँदै उहाँले गुड्खा तथा जंङ्क
फूडका खोल तथा प्लाष्टिकलाई जथाभावी नफाल्न नगरबासीलाई अनुरोध
गर्नुभयो । सार्वजनिक स्थानमा जथाभावी फोहोर गर्नेहरुलाई प्रचलित कानुन
अनुसार कारवाही गर्न नगरपालिका बाध्य हुने बताउँदै उहाँले सरसफाई
अभियानको स्वामित्व सबैले लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण
प्रसाद सापकोटालगायतले सरसफाईको बहुआयामिक महत्वका बारेमा प्रकाश
पार्नुभएको थियो । यस्तै खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रुपन्देहीका
अध्यक्ष धु्रव धितालले नगरपालिकाको अभियानलाई प्रत्येक संस्थाले सहयोग
गरिरहेको बताउँदै यसले जिल्लाका सबै स्थानीय तहमा प्रभाव पार्ने बताउनुभयो

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.