तिलोत्तमा वडा नं. १७ लाई स्वायत्त क्षेत्र घोषणा गर्न आग्रह

तिलोत्तमा, चैत ५ । रुपन्देहीको तिलोत्तमा नगरपालिले वडा नं. १७ लाई स्वायत्त
क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नगरपालिकाले
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९९ को उपदफा २ को (ग) बमोजिम
वडालाई स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐनमा एकै भाषा वा संस्कृति भएका समुदायको सघन
उपस्थिति र बाहुल्यता रहेको, सामाजिक तथा आर्थिक विकास सूचकाङ्क राष्ट्रिय
औषतभन्दा कम रहेको जिल्ला, स्थानीत तह वा वडालाई प्रदेश सरकारको
परामर्शमा नेपाल सरकारले स्वायत्त क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ ।
यहीँ व्यवस्थाअनुसार स्वायत्त क्षेत्रका लागि आवश्यक मापदण्ड पुगेकाले सम्बन्धित
निकायमा सिफारिस गर्ने निर्णय कार्यपालिका बैठकले गरेको नगर उप–प्रमुख
जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।
थारु समुदायको बाहुल्यता रहेको यो वडा साविक गंगोलिया गाविसमा पर्दछ ।
भौतिक तथा सामाजिक विकासका हिसाबले यो वडा तिलोत्तमाका अन्य वडाभन्दा पछि
रहेको छ । स्थानीय बासिन्दाको उत्थानमा विशेष कार्यक्रम सञ्चालन गर्न सहयोग
मिल्ने विश्वासका साथ वडालाई स्वायत्त क्षेत्र घोषणाका लागि नेपाल सरकारलाई
आग्रह गर्ने निर्णय नगर कार्यपालिकाको बैठकबाट गरिएको वडाध्यक्ष दानबहादुर
चौधरीले जानकारी दिनुभयो ।
वडाध्यक्ष चौधरीका अनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा वडा नं. १७
मा ६ हजार बढी जनसंख्या छ । वडाको कुल जनसंख्या मध्ये झण्डै ७० प्रतिशत
बासिन्दा थारु समुदायको रहेको उहाँले बताउनुभयो । स्थानीय सरकार सञ्चालन
ऐनमा स्वायत्त क्षेत्रको विकासको लागि नेपाल सरकार तथा प्रदेश सरकारले विशेष
कार्यक्रम सञ्चालन गर्न वा त्यसका लागि थप बजेट उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
यसरी विशेष कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित जिल्ला सभा, गाउँपालिका वा
नगरपालिकासँग समन्वय गर्नुपर्ने पनि ऐनमा व्यवस्था छ ।
(((((((((((((((((((((((((((((((((((

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.