जीवनमा आर्जन गरेको पूँजी उद्योगमा लगानी आवश्यकःमुख्यमन्त्री

बुटवल, चैत । रूपन्देहीको तिलोत्तमा नगरपालिका–९ शंकरपुरमा लुम्बिनी हेल्थ वाटर किङ्डम सञ्चालनमा आएको छ । पार्कको उद्घाटन गर्दै अवसरमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जीवनमा आर्जन गरेको पूँजी उद्योगमा लगानी गर्न आग्रह गरे ।
उउनले भने, ‘शान देखाउन घर बनाउनुभन्दा उद्योगमा लगानी बढाएर फाइदा लिन सकिन्छ ।’ मन्त्री पोखरेलले जति पर्यटक भित्र्याउन सकिन्छ त्यति नै व्यापार फष्टाउने उल्लेख गर्दै पर्यटन उद्योगका लागि पूर्वाधार आवश्यक भएको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निजी क्षेत्रलाई विकासमा गति दिन त्यस्तै प्रकारका कानून निर्माण हुन लागेको जानकारी दिए ।
किङ्डमका सञ्चालक माधव नेपालले पार्क सञ्चालनपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । झण्डै रु १२ करोडको लागतमा सञ्चालन भएको किङ्डममा ४० जना शेयर सदस्य छन् ।
बुटवलबाट नौं किलोमिटर दक्षिण र भैरहवाबाट १० किलोमिटर उत्तरमा रहेको सो हेल्थ वाटरमा वेभ पुल, रेन्बो, ट्युब स्लाइडर, मल्टी स्लाइडर, फेमली स्लाइडर, किड्स पुल, रेन डान्स तथा फुटसलको आनन्द लिन सकिने संस्थाका अध्यक्ष गोपालबहादुर पोखरेलले जानकारी दिए ।
दुई बिघा तीन कट्ठा क्षेत्रफलमा रहेको हेल्थ वाटर किङ्डममा बालबालिका, युवायुवती, वृद्धवृद्धाका लागि पानीबाट खेलिने विभिन्न खेलको छुट्टाछुट्टै व्यवस्था मिलाइएको उनले बताए । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाका लागिसमेत पायक पर्ने किङ्डममा भारतको गोरखपुर, गोण्डा, फरेन्दा, नौतनवालगायत क्षेत्रबाट पनि आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा गरिएको बताइएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.