काठमाडौं ,चैत १६ । अस्थायी शिक्षकलाई स्थायी गराउने उद्देश्यले लिन लागिएको परिक्षा स्थगित भएको छ । शिक्षा मन्त्रालयको निर्देशनपछि चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा शिक्षा सेवा आयोगले स्थगित गरेको हो ।
शिक्षक सेवा आयोगले आज सूचना प्रकाशित गरि परीक्षा स्थगित भएको उल्लेख गरेको छ । खुला प्रतिष्पर्धाबाट परीक्षा लिनुपर्ने मागसहित विभिन्न विद्यार्थी संगठनले विगत केहीदिन यता आन्दोलन गर्दै आएका थिए । केहीले आमरण अनसन नै गरेका थिए ।
योग्य र नयाँलाई प्रतिस्पर्धा नै गर्न नदिइ विगतमा दलका नेताको आशिर्वादमा करारमा शिक्षक बनेकालाई स्वत स्थायी गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले परिक्षा गराउने गरि कानून बनाएको थियो ।
परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो ।
तर अन्तरिक परीक्षा मात्र गर्न नहुने भन्दै चौतर्फी विरोध भैरहेको थियो । परीक्षा स्थगित भएसंगै विद्यार्थी संगठनले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।