तुलसीपुर, वैशाख ३१ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सामुदायिक विद्यालयको शिक्षा सुधार्नका लागि विशेष अभियान आरम्भ गरेका छन् । उनले विभिन्न वडामा गएर जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरेर शिक्षा सुधारको पहल गरेका हुन् ।
वडा नम्वर १ मा रहेका ६ वटा सामुदायिक विद्यालयको अवस्थामा वारेमा जानकारी लिदै नगरप्रमुख पाण्डेले पहाडि भेगमा जनसंख्या निकै कम हुने भएकाले व्यवस्थापनमा जटिलता भएको वताउँदै वडा स्तरमा वडाध्यक्षमा संयोजकत्वमा वडा स्तरिय शिक्षा समिति वनाउनका लागि आग्रह समेत गरे । उनले वडा नम्वर १ मा विद्यालय जाने उमेरका वालवालिकाहरु विद्यालय अनिवार्य रुपमा गएको हुनुपर्ने वताए । ‘वडा नम्वर १ लाई तपाईहरुले सबै वालवालिका विद्यालय गएको वडामा रुपमा घोषणा गर्नुहोस् ’ उनले भने ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ बाट मेयर पाण्डेले अभियानको आरम्भ गरेका हुन् । वडामा रहेका सामुदायिक विद्यालयसँग सम्वन्धित व्यक्तिहरुसँग छलफल गरेर त्यहाँका समस्याको वारेमा छलफल गरेका हुन् । धारापानी प्राविका कुलराज न्यौपानेले विद्यालयमा विपन्न वर्गका विद्यार्थीहरु धेरै पढ्ने भएकाले पोशाकको समस्या रहेको वताए । उनले भौगोलिक रुपमा विकट विद्यालय भएकाले विद्यार्थी सँंख्या न्यून भएको वताए । जनचेतना प्रावि गैरासिउँरेकी नामकली योगीले विद्यार्थी संख्या वढाउनका लागि आवासको सुविधा हुनुपर्ने माग गरिन् । ‘विद्यालय आउनका लागि दुई घण्टासम्म लाग्छ विद्यार्थीहरु आउनै मान्दैनन्’योगीले भनिन् । उनले दरबन्दी समेत कम भएकाले विद्यालय सञ्चालन गर्न जटिल भएको वताईन् ।
सृजनशिल आधारभुत माविका प्रधानाध्यापक नारायण भण्डारीले विद्यालयले निरन्तर वार्षिक योजना वनाएर काम गरिरहेको वताए । उनले सामुदायिक विद्यालयहरुले अस्वस्थ प्रतिष्पर्धा गरेका कारण सामुदायिक विद्यालयमा समस्या आएको समेत वताए । पछिल्लो समय अभिभावकले चासो दिएका कारण पनि विद्यालय सुधारको वाटोमा अगाडि वढेको उनले वताए ।
कार्यक्रममा टिचफर नेपालका कृष्ण केसीले सामुदायिक विद्यालयका समस्याहरुलाई समुदायले नै समाधानको पहल गर्नुपर्ने वताए । तुलसीपुर उपमहानगर शिक्षा शाखा प्रमुख भाष्कर गौतमले विद्यार्थीसंँख्या कम भएको विद्यालयमा वहुकक्षा शिक्षण गर्नुपर्ने वताए । प्रावि तहका विद्यार्थीहरुलाई आधाघण्टा भन्दा वढि हिडाउन नहुने गौतमले वताए । उनले विद्यार्थीहरुलाई टाढा टाढा सम्म हिड्न नपरोस् भनेर एकीकृत वस्तिको विकासमा ध्यान दिनुपर्ने समेत वताए । छलफल कार्यक्रममा एमाले नेता राममणी नेपाली, तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्य लगायतले विभिन्न सुझाव दिएका दिएका थिए । वडाध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।