बुटवल । जेठ २ । लामो रस्साकस्सीलाई अन्त्य गर्दै नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिवार एकता हुँदैछ । मदन आश्रित स्मृति दिवसको अबसर पारेर दुइ दलबीच एकता हुन लागेको हो । एमाले उपाध्यक्ष बामदेव गौतमले भोलि बिहिवार पार्टी एकता हुने जानकारी दिनुभयो ।
मदन भण्डारी कम्यनिष्ट एकताको पक्षमा भएको र नेपालको कम्युनिष्ट आन्दोलनलाइ यो अवस्थामा ल्याउने गरि जवजको प्रणेता पनि मदन नै भएकोले एकताका लागि दुइ दलले जेठ ३ को मिति रोजेका हुन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान दुइ घण्टासम्म भएको वार्तामा समानताका आधारमा एकता गर्ने सहमति भएको हो । सहमति अनुसार एकिकृत पार्टीमा करिब ४ सय जनाको केन्द्रीय समिति बन्नेछ । दुई अध्यक्षात्मक प्रणालीमा जाने र एकता महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्ने समझदारी बनेको छ ।
यस्तै चुनाब चिन्ह सुर्य, पार्टीको नाम नेकपा र मार्गदर्शक सिद्दान्त मार्क्सवाद–लेनिनवादमा सहमति भएको छ । एमालेले अबलम्वन गर्दै आएको जनताको बहुदलिय जनवाद र माओवादीले अबलम्वन गरेको माओवादबारे भने एकता महाधिवेशनवाट टुङ्गो लगाइने माओवादी नेता जनार्दन शर्माले जानकारी दिनुभयो ।
दुई अध्यक्षबीचको सहमति र एकिकरणको मिति तय गर्न बिहिबार एकता संयोजन समितिको बैठक बोलाईएको छ ।एमालेको केन्द्रीय समिति पनि भोली नै बस्दैछ ।
कुनैबेला एक अर्काको आलोचक र विरोधी शक्तिका रुपमा देखिएका एमाले र माओवादी केन्द्रले गत कात्तिक १६ गते चुनावी गठबन्धन बनाएर एकता गर्ने सहमति गरेका थिए ।
चुनाब लगत्तै एकता गर्ने भने पनि नेता व्यवस्थापन र संगठन संरचनामा सहमति नहुँदा प्रकृया लम्बिएको थियो । यस्तै ओली र दाहालबीच सरकारको नेतृत्व आलोपालो गर्ने र तत्काललाइ दुवै अध्यक्षले सहअध्यक्षता गर्ने समझदारी बने पनि महाधिवेशनपछि नेतृत्व कसले गर्ने भन्नेमा विवाद थियो ।