एमाले र माओवादीबीच एकता, नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन

बुटवल । जेठ ३ । पार्टी स्थापनाको ६९ बर्ष २५ दिनपछि नेपाल कम्युनिष्ट पार्टी नेपालको राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली पार्टी बनेको छ । जेठ ३ गते नेकेपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नामको दल निर्वाचन आयोगमा दर्ता भैसके पनि त्यही नाममा नयाँ दल दर्ता गरेका छन् । बैधानिक रुपमा एउटै नाम नपाइने भएकोले अण्डर लाइन गरेर पार्टी दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसकै दिन पार्टी एकता भएको हो । नयाँ पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेका छन् ।
नौ सदस्यीय हाइकमाण्ड बनाइएको छ। जसमा झलनाथ खनाल,माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, इश्वर पोखरेल र बिष्णु पौडेल छन् । श्रेष्ठलाई पार्टीको प्रवक्ता र पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ । पार्टीको स्थायी समिति ४५ सदस्यीय र केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय बनाइएको छ । जसमा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय सदस्य छन् । केन्द्रीय सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा शपथ ग्रहण गरेका थिए । यस्तै दल दर्ताका लागि निर्वाचन आयोग निवेदन समेत दिएका छन् ।
पार्टीको चुनाव चिन्ह सूर्य र मार्गदर्शक सिद्दान्त मार्क्सवाद–लेनिनवाद राखिएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दुई हजार ६ सालमा भएको थियो । तर दुई हजार १७ सालदेखि कम्युनिष्ट आन्दोलनमा फुटको राजनीति शुरु भएको थियो ।
तत्कालिन कोर्डिनेशन केन्द्र हुँदै दुई हजार ४७ सालमा माले र माक्सवादी मिलेर नेकपा एमाले बनेको थियो ।
यस्तै नेकपा चौम, मसाल, एकता केन्द्र हुँदै बनेको नेकपा माओबादीले २०५२ सालमा सशस्त्र युद्द थालेको थियो । काठमाडाैको सभागृहमा घोषणासभा गरेर नेताहरुले एकतासँगै नयाँ युगको शुरुवात भएको घोषणा गरे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.